जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली रित्तै फर्कियो
काठमाडौं। सूर्यदर्शन, स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ।
एक साताअघि मलेसिया गएका एक जना एसपी र एक जना सई बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । जीबी मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो।
उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन। अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन नमिल्ने प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।
स्रोतका अनुसार जीबीले ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा अपार्टमेन्ट खरिद गरेर बसेका छन्। यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो।