ओली र प्रचण्डको लडाइँ थप नयाँ मोडमा, एकअर्कालाइ सिध्याउन योजानबद्ध लाग्दै

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ योजना बनाएर सत्ता कब्जातर्फको बाटोमा अगाडि बढेको देखिन थालेको छ।

सरकारको नेतृत्वबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शक्ति सञ्चयका लागि प्रयास जारी राखेका छन्। पार्टी बलियो नभई सत्ता प्राप्त हुन्न भन्ने बुझेका प्रचण्ड सत्ताधारी दल र प्रधानमन्त्री केपी ओलीविरुद्ध खरो पेश हुने र शक्ति सञ्चय गर्ने ध्याउन्नमा केन्द्रित बन्न थालेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान अवस्थामा कमजोर राजनीतिक धरातलमा छन्। पार्टीको शक्ति कमजोर बनिरहेको बेला पनि निर्णायक भूमिकामा रहेका प्रचण्ड पछिल्लो समय शक्तिबाट केहि पर पुगेका छन्। जसले गर्दा उनमा छटपटी पनि देखिन्छ।

आफू नेतृत्वको सरकार ढालेर सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले र कांग्रेस सभापति शेरबहादुर देउवाले अधिनायकवाद तर्फ मुलुकलाई लैजान खोजेको सन्देश प्रवाहमा प्रचण्ड र माओवादी नेताहरुको सक्रियता देखिन्छ।

प्रचण्डले यतिमात्रै भनेका छैनन्,उनले एमाले कसरी प्रतिगमनतर्फ जाँदैछ भन्ने विषयलाई समेत विश्लेषण गरिरहेका छन्। ओलीले जनयुद्धलाई संविधान,विस्तृत शान्ति सम्झौता र तत्कालीन नेकपाकालीन सहमतिबाट पछि फर्किएको रुपमा समेत ब्याख्या गरेको प्रवक्ता सापकोटा बताउछन्।

माओवादी युद्धका कारण गणतन्त्र आएको दाबी गरेका प्रचण्डले ओली र कांग्रेसले मुलुकलाई पश्चगमनतर्फ लैजान खोजेकाले प्रतिपक्षमा रहेकाहरु मिल्नुपर्ने प्रस्ताव राखि रहेका छन्।

 प्रचण्डले एमाले र प्रधानमन्त्री केपी ओलीविरुद्ध अनेक प्रहार गर्न थालेपछि एमाले पोलिटब्यूरो बैठकमा ओलीले प्रचण्डले षडयन्त्र गर्न खोजेको आरोप लगाएका छन्।

प्रचण्डले सत्ता गुमेपछि एमाले र गठबन्धनप्रति अनेक षडयन्त्र गरिरहेको र भ्रमपूर्ण आरोप लगाउन थालेको भन्दै ओलीले यसको संस्थागत प्रतिवाद गर्न समेत भनिरहेका छन्।

अझं प्रचण्डले नेपालको हालत बंगलादेश र श्रीलंका जस्तो हुन्छ भनेपछि ओलीले थप क्रोध पोखिरहेका छन्। प्रतिवादमा ओलीले सार्वजनिक कार्यक्रममा समेत नेपाल बंगलादेश वा श्रीलंका जस्तो नबन्ने जिकिर गरिरहेका छन्।

एमालेपंक्ति भने ओलीले सत्ताको नेतृत्व गरेपछि अर्थतन्त्र सकारात्मक बन्दै गएको दाबी गरिरहेको छ। सेयर बजारलाई केन्द्रमा राखेर एमालेमा उत्साह देखिएपनि अर्थतन्त्रका अन्य सूचकमा परिवर्तन नदेखिएसम्म विश्वास गरिहाल्ने स्थिति भने छैन्।

सत्तामा हुँदा कहिले कसलाई त कहिले कसलाई उपयोग गर्दै माओवादी केन्द्र नभए सरकार नै बन्दैन भन्ने गर्थे,प्रचण्ड। आफ्नो पार्टीसँग जादुयी नम्बर रहेको भन्दै सरकारको नेतृत्व गरिरहेको बेला प्रचण्डले माओवादी केन्द्रको शक्तिको विषयमा बखान समेत गरेका थिए।

कांग्रेस एमाले मिलेपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र पछिल्लो समय तनावमा छ। जनतामा जाने भनेपनि आन्तरिक विवादले नेतृत्वमाथि प्रश्न उठ्ने र जनताले तत्काल पत्याईहाल्ने स्थिति नबन्ने अवस्था पनि छ। तर, कमजोर बनेपछि प्रचण्ड माओवादी घटकको एकता, वामपन्थी ध्रुविकरण, मोर्चा लगायतका विषयमा केन्द्रित बनेका छन्।

सत्ता गुमेसँगै चेत खुलाएका प्रचण्ड पछिल्लो समय साना ठूला सबै वामपन्थी दल र समूहलाई समेटेर अघि बढ्ने मुडमा देखिएका छन्। तर, यतिबेला नै सत्ताको भाग आइपरे उनले के गर्लान रु जनतामा शंका भने छ।