हरितालिका तीज: पशुपतिनाथ मन्दिरमा व्रतालुको भीड

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले महादेवको पूजा आराधना गरी मनाइरहेका छन्।

तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुको भीड लागेको छ। वर्षाको कुनै पर्वाह नगरीकन उनीहरु नाचगान गर्दै रमाइलो गरिरहेका छन्। व्रतालुहरू तीजका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा रमाइरहेका छन्।

आज पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन्। मन्दिर दर्शनको लागि लामो लाइन लागेको भएपनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो सरिरहेको पशुपति विकास कोषले जानकारी दिएको छ।

यस वर्ष पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको छ। दर्शनार्थीले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुदगाडेश्वर– उत्तरढोकाबाट मन्दिर प्राङग प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरीमूल ढोकाबाट कैलाश दक्षिण जुता चप्पलकक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ।

यस्तै, मित्रपार्क जयवागेश्वरी–गौशाला–भवनेश्वरी–शंकराचार्यमठ दक्षिण फलामे पुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ।

त्यस्तै, पिङलास्थानबाट वनकाली, चार शिवालय पञ्चदेवलपर्व वज्रघर–दक्षिणढोकासम्मको लाइनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राण प्रवेश गरी दक्षिणढोका बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ताचप्पलकक्षबाट जुत्ताचप्पल लिई फकने व्यवस्था मिलाइएको छ।

त्यस्तै, तिलगंगा राममन्दिर हुँदै बागमती नदी पर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व डोकावाट प्रवेश गरी पर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ।

दर्शनार्थीहरुको पार्किङका लागि तिलगंगा आँखा अस्पताल तर्फको खुल्ला क्षेत्र, सिफल चौरको खाली स्थान, गुह्येश्वरी पारीको खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर अमालकोट कचहरीको कार्यालय पशुपति क्षेत्र विकास कोषका सवारी साधनहरु र पर्वसँग सम्बन्धित निकायका सवारीहरु साधन पार्किङ गर्न सकिने व्यवस्था मिलाएको छ।