सत्ता ढाल्नेदेखि कार्यकर्ता बटुल्नेसम्मको अभियानमा प्रचण्ड,जनार्दनसँगको अन्तर संघर्षले प्रचण्ड हैरान

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरासत फर्काउन दौड्धुपमा लागि परेका छन्। प्रचण्ड सत्ता ढाल्नेदेखि कार्यकर्ता बटुल्नेसम्मका योजना बनाएर देश दौडामा लागको विश्लेषण हुन थालेका छन्।

त्यस्तै प्रचण्ड प्रतिपक्षमा थन्किए यता झनै भ्याई नभ्याई गरेर जनता र पार्टी कार्यकता भेटघाटमा व्यस्त हुन थालेका छन्। शक्तिशाली सत्ता गुमेको झोकमा रहेका प्रचण्ड जसोतसो पार्टीभित्रको संकट सुल्झाउँदै जनताको साथ खोज्न गाउँ पसे यता थप व्यस्त बनेका छन्।

अनेक राजनीतिक फण्डाले राष्ट्रिय राजनीति तरंगित भएका बेला सत्तारुढ दलका नेताहरु प्रचण्डमाथि वचनवाण प्रहार गर्न व्यस्त हुँदा प्रचण्ड भने देश दौडाहमा लागेका छन्।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र ओलीबीचको भिडन्तले राष्ट्रिय राजनीति तरंगित भएको छ। बा र बालेन समर्थकबीच सामाजिक सञ्जाल फेसबुकमा साइबर युद्धनै चलेको छ भने फलो, अनफलोको अभियानले राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।

सदन पनि सरकार र ओली कै कारण तात्तिएको छ। ओलीका मन्त्रीहरुको हर्कले हद नाघेपछि सदनमा सरकारको जवाफ खोज्नेहरुको लर्को र मन्त्रीको बोलीमा ब्रेक लगाउनु पर्नेदेखि बर्खास्त र राजीनामासम्मकै विषय बुलन्द हुन थालेका छन्।

नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता, कार्यकर्ताबीच फेसबुकमा सुरु भएको साइबर युद्ध अर्थात् जुहारीको सिकार भने प्रधानमन्त्री ओली बनेका छन्।

ओली र बालेनको भिडन्तकैबीच एमालेका उपमहासचिवसमेत रहेका ओली सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्ति स्वयम् मन्त्री गुरुङलाई भन्दा बा लाई भारी परेको छ।

ओलीले जथाभावी अभिव्यक्ति नदिनु भनेर आफ्ना मन्त्रीलाई सम्झाउँदै विषय थामथुम पार्न सफल भएका छन्। अझ भनौं बालेनसँग विवाद बढेपछि यो विषय ओझेल पर्दा तत्काललाई सञ्चारमन्त्री गुरुङलाइ केही राहात मिलेको छ।

सत्तापक्षकै सांसदहरुले सदनमा हंगामा मच्चाउँदा प्रतिपक्ष कित्ता कमजोर देखियो। अर्को ओलीले प्रचण्डलाई प्रहार गर्न छोडेका छैनन्। मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले प्रचण्ड परिस्थिति भाँड्ने खेलमा लागेको आफ्ना नेताहरूलाइ ब्रिफिङ गरेका हुन्। प्रचण्डले भाँडभैलौ मच्चाउन खोजेको ओलीको आरोप छ।

शक्तिशाली सरकारको अनेक फण्डा र हर्कतमा माओवादी रमिते बनेको छ।धन्न माधव सापकोटा, राजन दाहालहरु जसोतसो सरकारको खण्डन गर्ने प्रयास गरिरहेका छन्। उनीहरुले प्रमुख प्रतिपक्ष दल माओवादीको इजजत जोगाई राखेका छन्।

सत्ता गुमेपछि रनथनिएका प्रचण्ड पार्टी उपमहासचिव जर्नादन शर्माको विकल्प सहितको एजेन्डाले थप झस्किएका छन्। जसोतसो पार्टी फुट जोगाए पनि पूर्णत संकट टार्न सकेका छैनन्।पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष कायम छ।

आगामी चुनावमा कसैको ओत नलाग्ने अठोट लिएर संगठन निर्माणमा जोड दिइरहेका प्रचण्ड पार्टीभित्रको संकट टार्न केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तासँग हिमचिम बढाई रहेका छन्।

प्रचण्ड सर्कुलर जारी गर्नेदेखि आफैँ गाउँ पसेका छन्। सत्ताविहीन प्रचण्ड पार्टी नेतृत्वको पद जोगाउँदै शक्तिशाली बन्ने होडमा देश दौडाहमा लागेका छन्। जब कि प्रचण्डले साच्चै पार्टी सुधारेरै अघि बढ्ने हो भने जर्नादनले अघि सारेका विकल्पहरु पूर्णता बेवास्ता गर्न असम्भव रहेको विश्लेषण भइरहेको छ।

पार्टीभित्र एक छत्र हर्ताकर्ता रहँदै आएका प्रचण्ड सत्ता राजनीतिबाट विमुख हुँदै जनताको खोजीमा निस्केका छन्। ठूलो पार्टीपंक्ति प्रचण्डकै पक्षमा देखिएको छ। तर जनार्दनको डर बाट प्रचण्ड बाहिर निस्किन भने नसकेको अवस्था देखिन्छ। र पार्टीको सर्कुलर निरन्तर दिनुपर्ने प्रचण्डमाथि त्यस्तो के आइलाग्यो भन्ने शंका उपशंका भने हुन थालेका छन्। तर राष्ट्रिय राजनीति झनझन संकट तर्फ उन्मुख छ। यस्तो अवस्थामा प्रचण्डको रणनीतिक अस्त्रबारे आमचासो बढेको छ।