भारतसँग रुष्ट ओली अमेरिका भ्रमणमा जाने, चीन–भारतसँगको शक्ति सन्तुलन होला त ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्रीसहित जम्बो टोली लिएर ओली ११ दिनसम्मको भ्रमणका लागि असोज ५ गते अमेरिका जाने भएका हुन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले ओलीको अमेरिका भ्रमणलाई स्वीकृत गरेको हो।प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित अमेरिका भ्रमण जाने भएका छन्।

संयुक्त राष्ट्रसंघको महाभसभामा भाग लिन ओली अमेरिका जाने कार्यक्रम तय भएको हो। भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि सहभागी हुने बताइएको छ।

असार ३० गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री केपी ओलीलाई पहिलो विदेश भ्रमण भारत वा चीन कहाँबाट गर्ने भन्ने विषयले सकस पारिरहेको बेला संयुक्त राष्ट्रसंघको भ्रमणले सहज बनाइददिएको छ।

हुनत ओलीको सचिवालयले यो भ्रमणलाई स्टेट भिजिटको रुपमा स्वीकार गर्न तयार देखिन्न। तर, जम्बो टोली बोकेर अमेरिका जान लागेका ओलीको पहिलो औपचारिक विदेश भ्रमण भने अमेरिका बन्ने भएको हो।

भारतले ओलीलाई छिट्टै स्वागत गर्ने सन्देश दिइसकेको छैन्। बरु ओलीलाई देखाउनकै लागि भारतले आरजुलाई भव्य स्वागत र सम्मान दियो।

पछिल्ला दिनहरुमा ओलीले सीमा विवाददेखि ईपीजीका विषयमा पुनः कडा शब्दको प्रयोग यसै कारण गर्न थालेको विश्लेषण राजनीतिक वृत्तमा चलिरहेको छ। आरजुले भारतमा आफ्नो शक्ति प्रदर्शन गरेपछि गठबन्धनमै केहि समय तरङ्ग पैदा भएको थियो। तर, आरजुको सम्मानलाई सिंगो सरकारको सम्मान भन्दै विषयान्तर गरियो।

यस्तै, चीनले भने ओलीलाई औपचारिक भ्रमणको निम्तो पठाइसकेको बुझिएको छ। ओलीले शक्ति सन्तुलनका कारण पहिलो विदेश भ्रमण चीन नभई भारत नै गर्न चाहेकाले पनि कुरा अड्किएको बताइन्छ।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिक भ्रमणको निम्तो दिइसकेकी छन् भने मोदीले नेपाल भ्रमणको चाँजो मिलाउन निर्देशन दिएको समेत दाबी गरिसकेकी छन्।

अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइको छ। तर, ओलीको यो औपचारिक स्टेट भिजिट भने होइन्। ओलीले अमेरिकामा ११ दिन विताउनेछन् भने उनले शक्तिशाली बन्दै गरेकी मन्त्री आरजुलाई समेत संगै लैजाने भएका छन्।

पश्चिमा र भारतसँग विशेष सम्बन्धन राख्ने आरजुलाईसँगै लैजादा राहत महशुस हुने र गठबन्धनको मर्मपनि समेटिने भएकाले यस्तो तयारी गरिएको बुझिएको छ।