ट्यांकरका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार

काठमाडौं। कैलालीको धनगढीमा ट्यांकरका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार भएको छ। शनिबार राति साढे ११ बजेतिर धनगढी उपमहानगरपालिका-२ मा रहेको ट्यांकर पार्किङस्थलमा दुईवटा मोटरसाइकलमा आएका समूहले ट्यांकर चालक र सहचालकमाथि कुटपिट र धारिलो हतियार प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी कविन्द्र बोहराका अनुसार अज्ञात समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका-४ का २२ वर्षीय अनील देउवा घाइते भएका छन्।

उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई सामान्य चोटपटक मात्रै लागेको र वार्डमै राखेर उपचार भइरहेको डिएसपी बोहराले जानकारी दिए।

डिएसपी बोहराका अनुसार से ६ प ९३९७ र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले दुई चालक सहचालकमाथि आक्रमण गरी भागेका थिए।उनीहरूको खोजी भइरहेको डिएसपी बोहराले जानकारी दिए।

ट्यांकर चालक र सहचालक र आक्रमण गर्न आएका समूहको एक व्यक्तिसँग मेसेन्जर च्याटमा विवाद भएको खुलेको छ। शनिबार राति समूहमा आएकाहरूले मेसेन्जरमा झगडा परेको नभई अर्कै चालक र सहचालकमाथि आक्रमण गरेको डिएसपी बोहराले जानकारी दिए।

उनीहरूले पार्किङस्थलका अन्य चार ट्यांकर पनि तोडफोड गरेका छन्। मेसेन्जरमा झगडा भएका चालक र सहचालकलाई बोलाएर प्रहरीले सोधपुछ गरी घटनाको अनुसन्धान अगाडि बढाएको छ।