बैंक डुबिसकेको थप पुष्टि गर्ने सहकारी मन्त्रीको अभिव्यक्ति

 बुढोपाकाले भन्थे,जंगलमा बाघ कराएसँगै घरको गोठमा बाँधेको खसीबोका हराउँछ।पछिल्लो समय बजारमा बैंक तथा वित्तिय संस्था डुबेको व्यापक चर्चा चलिरहँदा सहकारीमन्त्री बलराम अधिकारीको अभिव्यक्तिले थप पुष्टि गरिदिएको छ।

सहकारीमन्त्री अधिकारीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सर्वसाधारणले बैंकबाट ऋण लिएर सहकारीमा बढी ब्याजको प्रलोभनमा परी बचत गरेको बताए । अहिलेका सहकारी पीडितहरु साँच्चिकै सहकारी पीडित नभई बैंकको ऋणी भएको उनको दाबी छ ।

बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर स्पष्ट छ । कोरोना महामारीपश्चात् देशमा आएको मन्दीको प्रभाव यो क्षेत्रमा पनि पर्यो । झण्डै तीन वर्ष भइसकेको छ, घरजग्गा, गाडी र सेयरमा मन्दी छाएको ।

त्यसैले, यी क्षेत्रमा लगानी गर्ने बैंक, वित्तिय संस्थादेखि व्यक्तिसम्म डुबेका छन् । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भए । असार ३१ ग्ते उनले मन्त्रिपरिषद् गठन गरे । उनको क्याबिनेटमा विष्णु पौडेल अर्थमन्त्री छन् ।

विष्णु पौडेल अर्थमन्त्री हुनुअघि सेयरको मूल्य प्रतिकित्ता १८ सय रुपैयाँ थियो । दिनमा कारोबार डेढ÷दुई‘ अर्बको कारोबार हुन्थ्यो । तर, असार १७ गते राति नेपाली काँग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति अनि अर्थमन्त्रीमा पौडेलको चर्चासँगै सेयरको मूल्य बढ्न थाल्यो ।

झन् पौडेल अर्थमन्त्री भएको एक महिनाको अवधिमा त सेयरमा एकपछि अर्को रेकर्ड बन्यो । १८ सय रुपैयाँमा झरिसकेको सेयर एक महिनाको बीचमा एकाएक १३ सय रुपैयाँ बढेर ३१ सय रुपैयाँ पुग्यो । दुई अर्ब कारोबारबाट ३० अर्ब कारोबार भयो । जुन इतिहासकै सर्वाधिक पनि हो ।

अहिले फेरि सेयर घटेको छ । ३१ सय बिन्दुमा पुगिसकेको सेयर अहिले २६ सयमा झरिसकेको छ । कारोबार रकम पनि घटेको छ । यसरी एक महिनाकै बीचमा सेयर दलालीहरुले खर्ब सम्पत्ति जोडे भने सेयरको मूल्य बढेको देखेर लगानी गर्ने सोझासाझा सर्वसाधारण फेरि डुब्ने देखिएको छ ।

सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तिय अवस्था र नाफामा आधारित हुन्छ । कम्पनी नाफा गए त सेयरको मूल्य बढ्ने हो । तर, हाम्रोमा हरेक क्षेत्रमा दलालीको बिगबिगी छ । त्यस्तै सेयरमा पनि भएको हो । सेयरमा ५०–५५ जना ठुला दलालीको हात रहेको बताइन्छ ।

अनि यीनीहरुले मूल्य बढाउँदा बढ्छ त घटाउँदा घट्छ । यी दलालीले आफ्नो सेयर बिक्री गर्ने समयमा ह्वात्तै मूल्य बढाउँछन् तर जब सर्वसाधारणको पालो आउँछ सेयर बेच्ने तब मूल्य घटाइदिन्छ । यसरी सीधासाधी सर्वसाधारण नराम्ररी फस्ने गरेका छन् ।

बैंक, वित्तिय संस्थाबाट महँगो ब्याजमा ऋण लिएर नाफा हुने प्रलोभनमा सेयरमा लगानी गर्दा हिजो पनि थुप्रै जनता डुबे र आज पनि डुब्ने देखिएको छ । सेयरमा ६५ लाख बढी सर्वसाधारणको लगानी छ । तर, नाफा कमाउने सीमित दलाली छन् ।

सर्वसाधारणलाई त ती दलालीहरुले प्रयोग मात्र गरिरहेका छन् । अनि यो खेल बुझ्न नसक्ने मानिसले सेयरमा लगानी गरेर आफ्नो घरखेत र परिवार नै सिध्याउँछ । सेयर जुवाको अर्को रुप हो । त्यसैले, अब प्रतिबन्ध गर्न आवश्यक छ । बिडम्बना, हाम्रो त सरकार नै जनता डुबाउन लागिपरेको छ ।

प्रधानमन्त्री, अर्थमन्त्री सेयरको कारोबार बढेमा खुशी व्यक्त छन् । किनकि सेयरमा लगानी गर्ने पनि एमालेकै कार्यकर्ता रहेको बताइन्छ । सेयरमा लगानी नगर्नु, डुबिएला भनेर सम्झाउनु त कहाँ कहाँ प्रधानमन्त्री ओली सेयरको मूल्य बढेमा उल्टै केक काट्ने घोषणा गर्छन् । अनि यहीबाट स्पष्ट हुन्छ कि सरकार आफैं जनता डुबाउन लागिपरेको छ ।

सेयरमा मात्र मात्र घरजग्गा र गाडीमा पनि यसरी नै दलालीहरुले सर्वसाधारणलाई फसाएका छन् । हिजो निमुखा किसानबाट रोपनीको पाँच÷दश हजारमा जग्गा किनियो । र, डोजर चलाइयो । अनि त्यँही जग्गाको एकाएक मूल्य बढाएर आनाकै ६०÷७० लाखमा सोझासाझा जनतालाई बेचियो ।

नाफा हुन्छ भनेर मानिसले आफुले जीवनभर कमाएको पैसासहित बैंक, वित्तिय संस्थाबाट समेत ऋण लिएर त्यो घरजग्गामा लगानी गरे । तर, अहिले बैंकको साँवाब्याज तिर्न नसक्दा उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण तिर्न पैसा छैन त घरजग्गा बिक्री हुँदैन ।

गाडीमा पनि यस्तै गरियो । भारतबाट एक लाखमा सवारी किनेर ल्याएर यहाँ पाँच लाखदेखि करोडौंमा बेचिएको छ । अहिले बजारमा दुई वटा कुराको खुब चर्चा छ । एउटा दशैंपछि धेरै कोठा, सटर खाली हुन्छन् । अर्को खोला, नदी, एयरपोर्ट वा इन्धनको डिपो वरपरको घरजग्गा किन्नुहुन्न ।

अहिले सहकारी पीडितहरुको आन्दोलन जारी छ । मीटरब्याज र लघुवित्त पीडित पनि आन्दोलनको तयारीमा छन् । पीडितहरु आन्दोलनमा उत्रिसकेका छन् । तर, रोचक कुरा त के छ भने नि अधिकांशले बैंकबाटै सस्तो ब्याजमा ऋण लिएर सहकारीमा बढी ब्याजको प्रलोभनमा सो रकम राखेका छन् ।

उदाहरणका लागि बैंकबाट तीनदेखि दश प्रतिशत ब्याजमा ऋण लिइयो । अनि सहकारीमा २० देखि ३० प्रतिशत ब्याजको लागि सो रकम राखियो । तर, सहकारी एकाएक डुब्यो वा भाग्यो । सहकारी डुबेपश्चात् त्यसरी बैंकबाट ऋण लिएर सहकारीमा रकम जम्मा गरेकाहरुको होश आवाज नै गुमेको छ ।

सहकारी भागेपनि बैंकको ऋण त तिर्नै पर्यो नि । तर, कसरी तिर्ने ? पैसा त छैन । यता, लघुवित्तहरुले पनि बैंकबाट सस्तो ब्याजमा ऋण लिएर ७५ प्रतिशतसम्म ब्याजमा कर्जा प्रवाह गरेका थिए । चर्को ब्याजका कारण घरखेत नै सकिएपछि लघुवित्त पीडितहरु संघर्ष उत्रिए । उनीहरु ऋण नतिर्ने अडानमा छन् ।

अनि उनीहरुले ऋण तिरेनन् भने लघुवित्तले कसरी बैंकको ऋण तिर्छ ? त्यसैले, अहिले चारैतिरबाट बैंक डुब्ने देखिएको छ। नेपाल राष्ट्र बैंकले बैंक डुब्ँदैन भनेर जतिसुकै दाबी गरेपनि बजारको अवस्थाले बैंक डुब्ने संकेत देखाइसकेको छ। अर्कोतर्फ,सरकारकै मन्त्रीको अभिव्यक्तिले यसलाई पुष्टि गरिदिएको छ।

अब बैंक डुब्न केही समय मात्र बाँकी छ। अहिले गाउँ गाउँबाट लघुवित्त लखेट्न थालिएको छ। गाउँदेखि सहरसम्मका घरधनीहरु लघुवित्त,सहकारी सञ्चालनका लागि घर भाडामा दिँदैनन्। किनकि यीनीहरु चोर, ठग हुन् भनेर जनताले थाहा पाइसकेका छन्।

पीडितहरुले आक्रोशमा आएर लघुवित्त, सहकारीमा आगलागी वा तोडफोड गर्दा आफ्नै सम्पत्तिको क्षति हुने डर घरधनीहरुमा बढ्दै गएको छ । त्यसैले, कतिपय घरधनीहरुले त भाडा नै मिनाहा गरेर लघुवित्त, सहकारीहरुलाई सर्न दिएका छन्।

कोही भने सर्न नमानेपछि घरधनीहरुले वडा कार्यालय,गाउँपालिका,नगरपालिका, महानगरपालिका गुहारेका छन्। सहकारी, लघुवित्त, फाइनान्स र बैंकले एक÷दुई जनालाई मात्र होइन हजारौं जनतालाई सडकछाप बनाएको छ।

कोही आफ्नो बचत पीडित नपाउँदा पीडित बनेका छन् भने कोही चर्को ब्याजदरका कारण। बैंक, वित्तिय संस्थाकै कारण सर्वसाधारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्। जनता भन्छन्,यीनीहरु ठग हुन्, बन्द गरौं।

त्यसैले, अब कि त सरकारले बैंक, वित्तिय संस्था बन्द गर्नुपर्छ। होइन भने जनता आफैंले यी संस्था बन्द गरिदिन्छन्। सहकारीजस्तै बैंक पनि ढिलो चाँडो भाग्ने नै छ । अब जनता सर्तक हुन आवश्यक छ।