मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताएका छन्। भाषा आयोगको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताए।

मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख गरे। उनले ध्वनि जबसम्म लिपीका रूपमा आउँदैन तबसम्म लोप हुन सक्ने धारणा राखे। मन्त्री पाण्डेले भने,भाषाको प्रवर्द्धन महत्वपूर्ण छ। व्यक्तिले आफ्नो मातृभाषा कामकाज तथा सम्पर्क स्थापित गर्ने अवसर पाउनुपर्छ।

उनले आफूले जिम्मेवारीमा आएपछि हालसम्म मन्त्रालयको बारेमा बुझिसकेको र अब सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने विश्वास व्यक्त गरे। मन्त्रालय मातहतको संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुधारेर यसप्रतिको विश्वास अभिवृद्धिमा सक्रिय हुने उहाँको भनाइ थियो।

मन्त्री पाण्डेले आफूले सत्य र निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका बेथितिलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।