अस्तव्यस्त उपत्यका,न थकाई मार्न सार्वजनिक स्थल छ न त पानी र शौचालयको नै व्यवस्था

काठमाडौँ उपत्यकामा विशेषगरी तीन वटा समस्याले सर्वसाधारणलाई निकै सताउने गरेको छ। एउटा घर वा कोठाबाट बाहिर निस्किएपछि सार्वजनिक स्थल वा बस्ने ठाउँ भेटिदैँन। अर्को खानेपानीका लागि ढुंगेधारा, कुँवाहरु छैन भने शौच गर्नुपरेमा त झन् गाह्रो हुने गर्छ। उपत्यकाभित्र सार्वजनिक शौचालय भेटिदैँ भेटिदैँन ।

उपत्यका अस्तव्यस्त बन्दै गएको छ। खाली जमिन कतै छैन। जताततै घर मात्र देखिन्छ। यहाँ एक आनादेखि चार आना जग्गामा तीन तलादेखि १९ तलासम्मका घर बनेका छन्। घर सबै भाडामा लगाइएको छ। त्यो पनि महँगो भाडामा। घर त बनाइएको छ तर घरभित्रै बस्ने ठाउँ छैन। अहिले उपत्यकामा बनेका घरहरु सबै जोडिएको भेटिन्छन्।

अर्कोतर्फ थोरै जग्गामा घर बनाइएको हुँदा एउटा सवारी पार्किङ वा मानिस बस्ने ठाउँ समेत हुँदैन । उपत्यकामा ७७ वटै जिल्लाका मानिसहरु बस्छन् । शिक्षा, स्वास्थ्य, रोजगारी वा अवसरमा खोजीमा देशभरका जनता यँही पस्ने गरेका छन् । र, घरधनीहरुले यसैको फाइदा उठाउँदै आएका छन् ।

उनीहरु एउटा सानो, अध्याँरो, चिसो कोठाको समेत मासिक भाडा आठ हजारदेखि २० हजारसम्म असुल्छन् । एउटा सटरको १५ हजारदेखि १९ लाख, एक फ्ल्याटको २५ हजारदेखि तीन लाखसम्म लिइन्छ । खाली सटर त २० लाखदेखि ६० लाखसम्ममा किनबेच गरिन्छ । घरधनीहरु महिना मर्नुअघि नै भाडा माग्न आइपुग्छन् ।

यता, बत्ती, पानी, फोहोर, इन्टरनेटको जति माग्यो, त्यति नै तिर्नुपर्छ । यत्रो पैसा तिरेपनि भाडामा बस्नेहरु केही सेवासुविधा पाउँदैन । न त कपडा सुकाउने ठाउँ दिइन्छ न त पानी नै दिइन्छ । उपत्यकाभित्र ६३४ वटा ढुँगे धारा र कुँवा थियो । त्यति नै संखयामा ताल, पोखरी पनि थियो । यो हुँदा बाटोमा हिँड्ने मानिसहरुले पनि सजिलै पानी पिउन पाउँथे ।

तर, ती ढुँगे धारा, कुँवा, ताल, पोखरी अहिले सबै मासिएको छ । अहिले उपत्यकाभित्र कतै पनि ढुँगे धारा, कुँवा भेटिदैँन । कही भेटिएपनि त्यहाँ पानी हुदैँन । यता, पार्टीपौवाहरु पनि मासिएको छ । पहिलापहिला मानिस हिँड्दाहिँड्दा थकाई लागेमा पार्टीपौवामा गरेर आराम गर्थे । कोही त राति त्यँही पनि सुत्थे । यद्यपि, अहिले पार्टीपौवा देखिन नै गाह्रो छ ।

बाटोमा हिँड्दा थकाई लागेमा कतै बस्ने खाली ठाउँ छैन । पैसा हुनेहरु त थकाई मार्न होटल, रेस्टुरेन्ट जालान् । तर, पैसा नहुनेहरुले चाँहि के गर्ने ? यति मात्र नभई अहिले पैसा नहुनेहरु पानी खानबाट समेत वञ्चित भएका छन् । ढुँगे धारा, कुँवा, ताल, पोखरी केही छैन ।

अनि बाटोमा तिर्खा लागेमा पसलबाट किनेर पानी खानुपर्छ। एउटा मिनिरल वाटरको २५ देखि ५० रुपैयाँसम्म पर्छ । यति पैसा नहुनेले त पानी नै खान पाउँदैनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालयमा शौच निःशुल्क गर्ने निर्णय गरे ।

उनको यो निर्णयमा धेरैले समर्थन जनाएका छन् । किनकि भोक र शौच धनी र गरिब दुवैलाई लाग्छ । तर, पैसा नहुने गरिबहरु शौच गर्नबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । अहिले राजधानीका सार्वजनिक शौचालयमा शौच गरेको पैसा लिइदैँन । यसले एक–दुई जनालाई मात्र नभई लाखौं लाख सर्वसाधारणलाई फाइदा भएको छ ।

बिडम्बना, राजधानीसँगै जोडिएको भक्तपुरको सूर्यविनायक नगरपालिकामा त्यहाँका कर्मचारीहरु सार्वजनिक शौचालयमा समेत ताला लगाएर राख्छन् । उनीहरु आफु जान्छन् अनि शौचालयमा ताला लगाइदिन्छन् । नगरपालिकामा दिनहुँ सयौं सर्वसाधारण विभिन्न कामका लागि आउने गरेका छन् । तर, कर्मचारीहरुले शौचालयमा नै ताला लगाएपछि उनीहरुले कहाँ शौच गर्छन् ?

नगरपालिकाका मेयर वासुदेव थापालाई यसप्रति कुनै चासो छैन । उनले कहाँ र कसरी भ्रष्टाचार गर्न पाइन्छ, यति मात्र थाहा छ । कानूनमा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, होटल, रेस्टुरेन्ट सञ्चालन भएको ठाउँको शौचालयमा ताला लगाउन पाइदैँन । दुर्भाग्य अहिले त सरकारी कार्यालयकै शौचालयमा ताला लगाइएको भेटिन्छ ।

अनि सरकार के गर्दैछ ? यहाँ कानून त कसैलाई थाहा भएन नै । सँगै मानवता पनि हराउँदै गएको छ । अहिले भक्तपुरका जनता लज्जित भएका छन् । मेयर थापाले जनताको समस्या त बुझेन् नै सँगै कानून र मानवता पनि उनीमा रहेनछ । अहिले हामी जनताले आफ्नै देशको पानी समेत पिउन पाएका छैनौं । तिर्खा लागेपनि घाँटी सुकाएर हिँड्नुपर्छ ।

तर, प्रधानमन्त्री केपीशर्मा ओली भने दिनको ७० हजार पर्ने पानी विदेशीबाट किनेर ल्याएर पिउँछन् । हाम्रो देशलाई जलस्रोतको दोस्रो धनी देश पनि भनिन्छ । अवसोश, हामीले नै महँगोमा पानी नकिनी पिउन पाउँदैनौं । अहिले उपत्यकाभित्र बस्ने सर्वसाधारण एक जार पानीको ६० देखि डेढ सय रुपैयाँसम्म तिरेर पिउन बाध्य छन् ।

अनि आफ्नै देशका जनताले पानी किनेर खानु परिरहँदा कसरी भयो नेपाल जलस्रोतमा धनी ? एक ट्याकर पानीको दुई हजारदेखि पाँच हजारसम्म लिइन्छ । त्यो पनि खोला वा बोर्डिङ गरेको पानी हुन्छ ।

उपत्यका निस्सासिएको छ । जताततै घरैघर छ । कतै खाली ठाउँ भेटिदैँन । न त हरियाली नै छ । बाटोमा हिँड्दा थोत्र्रा, पुराना सवारीसाधनले धुँवाको मुस्लो फ्याल्छ। घरमा बस्दा निस्सासिएर बस्न सकिदैँन । अनि जाने चाँहि कहाँ ? नेपाल कृषि प्रधान मुलुक पनि हो । हाम्रा नेताहरु यसैलाई जोडेर लामो भाषण गर्छन् ।

दुर्भाग्यपूर्ण, देश कृषि प्रधान भएपनि खाद्यान्न भने विदेशबाट किनेर ल्याएर खानुपरिरहेको छ । नारामा मात्र देश कृषि प्रधान भनिएको छ । अहिले देशभर खेतीयोग्य जमिन भेटिन गाह्रो छ । किनकि सबै जग्गा घर र बाटो बनाएर सकिएको छ । अझै पनि सरकारले केही नगरे अबका केही वर्षमा एक आना पनि खेतीयोग्य जमिन बच्दैन ।

पहिलापहिलाका मानिसहरु तिर्खा लागेको मानिसलाई पानी दिएमा धर्म हुन्छ भन्थे । तर, अहिले त माग्दा समेत पानी दिइदैँन । होटल, रेस्टुरेन्टमा खाना नखाई पानी पिउन दिइदैँन । घरधनीहरु पनि पानी माग्दा पनि दिदैँन । मानिसमा मानवता हराउँदै गएको छ । सबैलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्छ ।

जनतामा सचेतना वृद्धि गर्नु राजनीतिक दलका नेता, कर्मचारी र सञ्चारकर्मीको कर्तव्य पनि हो । तर, यहाँ त जो पनि आफ्नो अधिकार खोज्छन्, कर्तव्य भने पुरा गर्दैनन्। अहिले राज्य सञ्चालनमा बसेकाहरुलाई नै कानूनबारे केही थाहा छैन। उनीहरु नै गैरजिम्मेवार छन्। अनि नेतृत्व नै यस्तो भएपनि त्यसको प्रभाव सर्वसाधारणमा पनि पर्नु स्वभाविक हो।

जनतालाई निःशुल्क रुपमा पानी खुवाउन र सार्वजनिक शौचालयको व्यवस्था समेत गरिदिन नसक्ने प्रधानमन्त्री केपीशर्मा ओलीले कसरी समृद्ध र सुखी नेपाल बनाउँछन्। हुन त उनीमाथि नै सार्वजनिक सम्पत्ति (जग्गा) व्यकितको नाममा दर्ता गराएको आरोप छ।

उनको सरकारमा अर्थमन्त्री भएका विष्णु पौडेलमाथि पनि बालुवाटारको ललिता निवासको सरकारी जग्गा आफ्नो छोरामा नाममा दर्ता गराएको आरोप छ। यति मात्र नभई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि नै मानव तस्करीकै आरोप छ। अनि यस्ता व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री भएपनि जनताले कसरी सुख पाउँछन् !