मेलम्ची खानेपानी भ्रष्टाचार: पूर्वसचिव ठाकुरसहित ४ जना दोषी ठहर, दश जनालाई सफाइ

काठमाडौं। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर,तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार मेलम्ची आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर,तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो।

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो भराउन माग गरेको छ भने देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउन माग गरेको छ। इप्टिसा र बेट्स (बीइटीएस)लाई ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ।

अदालतको आदेश अनुसार इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी भएको ठहर गर्दै उनीहरुमाथि सजाय र जरिवानाका लागि असोज ७ गते पेशी तोकेको छ। अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित १० जनालाई सफाइ दिएको छ।

सफाई पाउनेहरुमा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, सहसचिव रुद्रसिंह तामाङ र मुकुन्दप्रसाद पौडेल, घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापा रहेका छन्।