दशैंका लागि हवाई टिकट बुकिङ सुरु, बसको कहिलेदेखि हुन्छ?
काठमाडौं । दसैँ–तिहारका लागि हवाई टिकट बुकिङ सुरु भएको छ। एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ नखुलाउने भएपछि पछि अभाव हुने डरले यात्रुहरुले एक महिना अघिदेखि नै अग्रिम बुकिङ थालिसकेका हुन्।
वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ।
सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिए।
यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ।
दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ।