एमाले नेतासहित ९ जना जुवाडे पक्राउ
काठमाडौं । एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका अनुसार ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सोही ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोक नाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई छन्।
सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।