लिग-२ क्रिकेट: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–२ कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो।

खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा शुरु हुनेछ । सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण छ । लिग–२ को पहिलो सिरिज नेपालमै खेलिएको थियो । घरेलु मैदानमै खराव प्रदर्शन गरेको नेपाललाई त्यो कमजोरी दोहो¥याने छुट छैन।

भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ। क्यानडामा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ।

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। ओडिआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने छन्।