सहकारी प्रकरण रवि लामिछाने दोषी ठहर,संसदमा प्रतिवेदन पेश गर्ने समितिको तयारी

फाइल तस्वीर

काठमाडौं। सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ। तीन महिना अघि संसद्बाट गठन भएको समितिले झन्डै सात सय पृष्ठको प्रतिवेदन लेखन कार्य सकेर उक्त प्रतिवेदन आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको हो।

समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि बयान लिएको थियो।

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै समितिले लामिछानेलाई दोषी ठहर गरेको छ। समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए।

सहकारीको रकम गीतेन्द्रबाबु राई (जीबी) ले गोर्खा मिडियामा ल्याउँदा लामिछाने प्रबन्ध निर्देशक थिए। त्यहाँ आएको पुँजी परिचालनमा उनको भूमिका देखिएकाले कारबाहीका लागि सिफरिस गरिएको हो।

छानबिन समितिले पाएको कार्यादेशमा गोर्खा मिडिया प्रालीलाई जोड दिएर अध्ययन गर्न भनिएको थियो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि गोर्खा मिडिया नेटवर्कबाटै रविलाई दोषी प्रमाणित गर्न सकिने सुझाव दिएका थिए।

गत जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित ७ ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र सुरुमा बद्री पाण्डे र पछि उनको स्थानमा दिलेन्द्रप्रसामद बडु, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य छन्।