मेटमणिलाई पार्टीबाट निकाल्न झलनाथको माग

काठमाडौं। नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न माग गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले लामो वक्तव्य जारी गर्दै नेपाली भूभाग– कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै पार्टीबाटै निकाल्नुपर्ने माग नेतृत्वसँग गरेका हुन्।

प्रतिनिधि सभा सांसदसमेत रहेका चौधरीले गत भदौ २५ गते एक टेलिभिजन अन्तर्वार्तामा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको आशयको अभिव्यक्ति दिएका थिए।

यस विषयमा पार्टीले उनीसँग स्पष्टीकरण पनि लिइसकेको छ । तर पार्टीलाई बुझाएको लिखित स्पष्टीकरणमा उपमहासचिव चौधरीले आफूले त्यस्तो नबोलेको जिकिर गरेका छन् भने एकीकृत समाजवादीले ‘जिब्रो चिप्लिएको’ भनी उनलाई थप कारबाही नगर्ने तयारी गरिरहेको बुझिएको छ।

आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न।

अझ हामै पार्टीको ‘उपमहासचिव’ र वहालवाला ‘सांसद’बाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ’, खनालले वक्तव्यमा भनेका छन्।

उनले अगाडी भनेका छन्,उपमहासचिवको उक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ। आम कार्यकर्ता, समर्थक र शुभेच्छकहरूमा समेत तीखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ।

यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रोजस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्तिसमक्ष जोडदार माग गर्दछु।