बालेन र कुलमान किन बने ओलीको तारो, बालेनसँग भिड्न पार्टी कार्यकर्ता उचाल्दै ओली
आर.एस. महतारा
काठमाडौं।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको एकअर्कासँग वाक्युद्ध चलिनै रहन्छ। ओली बालेनसँग मात्रै नभएर आफूतिर प्रश्न तेर्साउने हरकोहीसँग भिड्ने मात्रै होइन नेता कार्यकर्तालाई जाई लाग्नसमेत निर्देशन दिने गर्छन्। आखिर ओली किन सबैसँग भिड्न नेताहरूलाई उक्साइरहेका हुन्छन् भन्ने आम नागरिकमा प्रश्न उब्जिने गरेको छ।
प्रधानमन्त्री ओली उमेरले सात दशक काटिसकेका छन्। सामान्यत यस्तो उमेरमा शरीरमा जागर नआउने र बोलीमा पनि खासै त्यस्तो वजन भेटिँदैन। तर, ओलीको सक्रियता र उनले दिने अभिव्यक्ति भने नवजवान युवाको भन्दा फरक हुँदैन। ७२ वर्षका प्रधानमन्त्री ओलीले सायदै कोही कसैसँग भिड्न छुटाएका छैन होला। हर कोहीसँग उनको वाक्युद्धको मुठभेड चलिरहेकै देख्न सकिन्छ। र, त्यो अहिले पनि जारी छ,खास गरि अहिले ओलीको आखाँको तारो बनेका छन्,काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र विद्धुत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ।
बालेनसँग भिड्न सामान्य कार्यकर्तादेखि उनी आफैँ पनि लागिपरेका छन्। बालेनविरुद्ध भिड्न पटक पटक उनी हौसिन्छन्। महानगरपालिकाकै वडाध्यक्ष, उपप्रमुख हुँदै काठमाडौं जिल्लाका पार्टी अध्यक्ष र विद्यार्थी भ्रातृसङ्गठनका अध्यक्षलाई समेत बालेनका विरुद्ध उक्साइरहने गरेका छन्।
सबैलाई भिडाउन लागिपरेका ओली अझै सन्तुष्ट छैनन्। बालेनविरुद्ध बोले अलोकप्रिय भइन्छ भत्रे डरले गलत कुरालाई स्थापित हुन दिन नहुने भन्दै नेकपा एमालेका नेता, कार्यकर्तालाई बारम्बार प्रतिवादमा उत्रन आह्वान गर्दै आइरहेका छन्।
ओलीको भिडन्त बालेनसँग मात्रै पनि सीमित छैन। अहिलेको सत्ता सहयात्री कांग्रेसका सांसदसँग सदनमा हात हालाहालकै अवस्थामा पनि ओली पुगेका थिए।
त्यस्तै दुई पटक सत्तामा जाँदा काखी च्यापेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि ओलीले जोरी खोज्न छोडेका छैनन्। रास्वपाका सांसद सुमना श्रेष्ठको बैवाहिक जीवनको व्यक्तिगत सम्बन्धबारे नै असन्तुष्टि पोखेका ओलीले शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्तिमा पनि पैठेजोरी खोजेका थिए।
र त्यो पैठेजोरी अहिलेसम्म पनि निरन्तर चलिनै रहेको छ। अहिले पनि बेलाबखतमा ओली र सुमनाको भिडन्त भइनै रहन्छ। ओलीले माओवादीलाई चिढ्याउन कुलमान घिसिङसँग जोरी खोज्दा अहिले ‘हिंसा’ शब्दलाई लिएर सदनमा भिडन्तकै अवस्था बनिरहेको छ।
त्यस्तै ओलीले दुर्गा प्रसाईसँग भिड्न त महेश बस्नेतलाई नै जिम्मा दिएका थिए। तर, सधैँ चर्चामा रहने बस्नेत ओलीले उचालेकै भरमा प्रसाईसँग भिड्दा अहिले एमाले र राष्ट्रिय राजनीतिबाटै किनारामा पुगेका छन्।
आफ्ना विरोधीसँग भिड्न नेता कार्यकर्तालाई तिखारेका ओली आफ्नै पनि समय खर्च गरिरहेका छन्। ओलीको हर्कतबाट सत्ता गठबन्धनकै नेताहरू पनि वाक्क हुन थालेका छन्।
नेपाली कांग्रेसका निर्वाचित सांसद शङ्कर भण्डारीले विज्ञप्ति नै निकालेर ओलीका यस्ता प्रवृत्तिको खण्डन नै गरे। प्रधानमन्त्रीको पदमा आसिन देशको एक जिम्मेवार व्यक्तिले राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्नु पर्ने उनको सुझाव छ। देशको नेतृत्व गर्नेले नै यस्ता सानातिना कुरामा अल्झिनु दुर्भाग्य भएको जानकारको पनि बुझाइ छ।
बालनेसँग भिड्न सिङ्गो विद्यार्थी सङ्गठन लाग्दा फेसबुकको पोष्ट नै डिलिट गराएका ओली आफ्ना विरोधीको आवाज सुनै चाहँदैनन्। जसका कारण आफू र पार्टी उपर उठ्ने हरेक प्रश्नको जवाफ दिनेभन्दा त्यसको प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।
प्रधानमन्त्री ओलीले यसरी हरेक प्रश्नमा ओठे जवाफ फर्काउनु भन्दा कमसेकम सामान्य शान्ति सुरक्षालाई मात्रै पनि ख्याल गरेर आफ्नो जिम्मेवारी बोध गरे देश र उनकै लागि पनि फाइदा हुने टिप्पणी भइरहेको छ।
राज्यको शान्ति सुव्यवस्था कायम गर्नु पर्ने जिम्मेवारी बोकेकाले नै भड्किलो अभिव्यक्ति दिँदै हिँड्दा देशमा अमनचैन कसरी कायम रहला भन्ने प्रश्न उठाउनेहरु बढ्दै गएका छन्। प्रधानमन्त्रीले विवादमा भन्दा पनि जनजीविका र देश विकासको सवालमा बढी ध्यान दिन जरुरी देखिदै गएको छ।
देशकै प्रधानमन्त्री हुनु पर्नेमा ओली पार्टीकै प्रधानमन्त्री जसरी जोसँग पनि जोडि खेल्नुले सामान्य जनता पनि ओलीको त्यस्तो प्रवृतिले वाकदिक्क हुँदै गएका छन्। बालेन होस् या अरू कसैलाइ पनि बाँकी नराख्ने ओलीको बानीले चर्चा भन्दा पनि बढी आलोचना खेप्ने गरेको पाइन्छ। देशको प्रधानमन्त्रीलाइ आम जनताको चोसो हुनुपर्नेमा त्यो भन्दाबढी कार्यकर्तालाइ कोसँग जुदाउने भन्ने चासो बढी हुनुले ओली प्रति दिन प्रतिदिन उनको लोकप्रियता घटेर गएको छ।