चितवन प्रदर्शनी केन्द्रमा पर्व मेला-२०८१ को आयोजना हुँदै

चितवन। चितवन उद्योग संघको आयोजना एवम् चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र बेस ग्लोबल प्रा लिको सहकार्यमा असोज १ देखि २४ गतेसम्म पर्व मेला २०८१ चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन गइरहेको छ।

असोज १ देखि असोज २४ सम्म स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य लेडिज जेन्स बच्चा सबै सबैलाई समेटेर आकर्षण छुटमा खरिद गर्न सकिने’ चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले बताउनुभयो।

असोज १६ देखि १९ सम्म चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले चितवन उद्योग संघको सहकार्यमा प्रदर्शनी केन्द्रमा अटोमोबाइल व्यवसायको प्रबर्द्धन र व्यवस्थापन गरेको संस्थाका अध्यक्ष राजन पियाले बताए।

स्वदेशी उत्पादनलाई प्रोत्साहन स्वरुप र स्वदेशी चप्पल जुत्तामा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ जोड रहेको चितवन उद्योग संघका पूर्वअध्यक्ष त्रिलोचन कडेलले बताए।

चार वटा कम्पनीको ४० वटा स्टल रहने र एक कम्पनीको ५ वटा स्टल राखिने आयोजकले जनाएको छ। फुटवेयर एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले स्वदेशी उत्पादनलाई प्रयोगका लागि आम जनतालाई सकारात्मक सन्देश प्रवाह गर्ने कार्यमा जोड दिन सबै सबैमा आग्रह गरे।

काडा अटो शोमा रहने गाडी मोटरसाइकल मध्ये ८० प्रतिशत विधुतीय सवारी साधन रहनेछन्। राष्ट्रको अर्थतन्त्र सबल र उद्यमशिलताको महत्वपूर्ण हिस्सा ओगटेको यो व्यवसायिक क्षेत्रमा आवश्यक सहयोग मिल्ने उद्देश्य प्राप्तिका लागि काडा अटो शोमा सरल किस्ताबन्दी सुविधा उपलब्ध रहेको छ।

निःशुल्क प्रवेशको व्यवस्थासहित पर्व मेला- २०८१ बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन गर्ने आयोजकले जनाएको छ।

बडा दशैं जुत्ता चप्पल व्यापार मेला- २०८१ मा उत्पादनकर्ता, निर्यातकर्ता, थोक र खुद्रा विक्रेता, स्कुल कलेजका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, प्राध्यापक, पत्रकार, स्थानीय व्यवसायी, विभिन्न पेशाकर्मी एवम् आम उपभोक्ताले अवलोकन गर्ने विश्वास गरिएको मेलामा जुत्ता चप्पल खरिद गर्नेलाई चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाईक, शेयर गरेमा तुरुन्त दुई प्रतिशत क्यास ब्याक प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

जुत्ता चप्पल खरिदमा पन्ध्रदेखि पचास प्रतिशत छुटको अफर तथा असोज २१ देखि खोलिने लक्की ड्रमा एक जनालाई पच्चिस हजार बराबरको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ।