वर्तमान सरकारसँग काम गरेर देखाउने बाहेक अरू एजेण्डा छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउन काम गरेर देखाउनेबाहेक अरु कुनै एजेण्डा नरहेको बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको बताएका हुन् ।

विकासका लागि नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको भन्दै उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने बताए ।

‘विकासका लागि स्थायित्व चाहिन्छ, अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो ।

तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन्। संविधानलाई समयानुकुल बनाउनु पर्छ,’ उनले भने।

उनले अगाडी भने, ‘संविधानलाई समयानुकुल समयानुकुल बनाउने भनेको अनुकुल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो ।

मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एण्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो। विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो।

राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट गरिने पनि उनले बताए।