हुम्लामा खाद्यान्नमा सहुलियत

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार हिन्दुहरूको महान् चाडपर्व दसैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको हो।

कार्यालयले नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ। तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर रु सात छुटमा बिक्री हुने भएको छ।

अरुवा मोटा चामलको रु एक हजार ५२५, अरुवा सोना मन्सुली रु एक हजार ७२५, स्टिम जिरामसिनो रु दुई हजार २५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ।

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट रु १२५ छुटमा बिक्री हुन लागेको हो। यस्तै सूर्यमुखी तेल प्रतिपेटीको रु दुई हजार २३० र तोरी तेलको प्रतिपेटी रु दुई हजार ३० मा विक्री हुन लागेको हो। सहुलियत मूल्यमा खाद्यान्न बिक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ।