प्रचण्ड सरकारको मन्त्रीजस्तै ओलीको हालत हुने त होइन् ?

सर्वोच्च अदालतले २०७८ असार २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट बर्खास्त गरिदियो । त्यसपछि काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । एमालेले ९ महिना सदन अवरुद्ध गर्यो। सो अवधिभर एउटा पनि कानुन बनेन् । एमालेका सांसदका कारण ऐनकानुन बनेन् तर उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पनि छोडेनन्।

चुनावको मिति छिटो घोषणा गर्न एमालेले दबाब दियो । देउवा नेतृत्वको सरकार भएमा देश बर्बाद हुने एमालेको भनाइ थियो । देउवाले २०७९ वैशाख ३० गते स्थानीय तहमा निर्वाचन गराए । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो । दुवै चुनावमा जनताले एमालेलाई पत्याएनन् । सोचेअनुरुप मत नआएपछि ओली २०७९ पुस १० गते माओवादीका अध्यक्ष पुष्पकमल दाहालको शरणमा पुगे ।

प्रचण्डले प्रधानमन्त्रीको लोभमा परेर विगतमा पाएको धोका बिर्सिए । ३२ सीट भएकोले प्रधानमन्त्री पाउने भएपछि मख्ख परिहाले । हिजोको दिनमा ओलीले आफूलाई दिएको धोकाहरु बिर्सिए उनी प्रधानमन्त्री खान तम्सिए । प्रचण्ड नेतृत्वको सरकारमा एमाले गयो । २०७९ फागुन १५ गते एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो । एमाले सरकारबाट बाहिरिएपछि ओलीको फेरि उही गन्थनमन्थन शुरु भयो ।

देश सकायो, यो सरकार एक घण्टा मात्रै देश बर्बाद हुन्छ भनेर भाषण दिन थाले । हुन त ओलीको स्वभाव नै त्यस्तै छ । आफूले पाउँदासम्म सबै ठीक, नपाए सबै बेठीक । काँग्रेससँग गठबन्धन तोडेर प्रचण्ड २०८० फागुन २१ गते एमालेसँग गठबन्धन गर्न आए । देश बर्बाद बनाइरहेको व्यक्तिले नेतृत्व गरेको सरकारमा एमाले गयो । गत जेठ १५ गते बजेट भाषण आयो ।

अर्थमन्त्री थिए, वर्षमान पुन । बजेट भाषण आएपछि एमालेको रामकहानी शुरु भयो । सरकारी कर्मचारीको तलब बढाएन्, ज्येष्ठ नागरिकको भत्ता बढाएन्, माओवादीले आफ्नो क्षेत्रमा लगेर बजेट हाल्यो, अरु क्षेत्रमा बजेट हालेन्, हामी बजेट पास गर्न दिन्नौं भनेर एमालेले विरोध गाथा गाउन थाल्यो । बजेटको खुलेर विरोध गर्न ओलीले आफ्ना सांसदलाई निर्देशन दिए ।

संघीय संसद सचिवालयका कर्मचारीलाई तलब र सेवासुविधा बढाउनका निम्ति आन्दोलन गर्नका लागि उचालियो । काम छोडेर उनीहरु जतिबेला पनि चौरमा आएर आन्दोलन गर्थे । गत असार १७ गते काँग्रेस र एमालेबीच सरकार बनाउने सम्झौता भयो । अनि फेरि उही गन्थनमन्थन । प्रचण्ड एक घण्टा मात्र कुर्सीमा बस्यो भने देश बर्बाद हुन्छ भन्ने नारा लगाउन थालियो ।

असार ३१ गते ओलीले प्रधानमन्त्रीको शपथ खाए । ओली प्रधानमन्त्री भएको तीन महिना बित्न लाग्यो । यो अवधिमा उनले सिन्को पनि भाँचेनन् । हल्लेरै तीन महिना बित्यो । विभिन्न कार्यक्रममा जाने, भाषण ठोक्ने, यतिमै सीमित छन् उनी । हावा भाषण ठोक्ने अनि जनतालाई अल्मलाउने काम मात्र गरिरहेका छन् ओली । कर्मचारीको तलब, सेवासुविधा बढाउनुपर्छ भन्दै कराउने एमालेले आफू सरकारमा गएको लामो अवधि भएपनि बढाएको छैन् ।

राज्यको ढुकुटीमा भए त तलब बढाउने हो । पैसा छैन् अनि मुखले भट्टयाएर मात्र हुन्छ । एमाले जतिबेला पनि ज्येष्ठ नागरिक भत्ता हामीले दिएको भन्छ । जबकी त्यो राज्यको ढुकुटीबाट दिइएको हो। ज्येष्ठ नागरिक भत्ता बढाउनुपर्यो भनि बुरुकबुरुक उफ्रिने एमाले अहिले मौन छ । न विभिन्न क्षेत्रमा भएको सिण्डिकेट नै हटाइएको छ । ओली सरकारले गरेको काम भनेको धमाधम वैदेशिक ऋण लिने मात्र हो ।

दुई महिनामा एक खर्ब ४१ अर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरिएको छ । दोस्रोचोटि २०७४ फागुन ३ गते उनी प्रधानमन्त्री हुँदा विदेशी ऋण ६ खर्ब थियो । २०७८ असार २१ गते पद छोड्ने बेलामा ऋण २१ खर्ब पुग्यो। ऋण ल्याउने, अलिअलि जनतालाई बाँड्ेजस्तो गरेर आफ्नो कार्यकर्ता पोस्ने अनि कसले देको भन्दा एमालेले। ‘स्टण्टबाजी’ गर्न पनि जानेकै हो । उनी सरकारमा आउनु भनेको विदेशी ऋण बढ्नु मात्र हो ।

अहिले ऋण बढेर झण्डै २६ खर्ब रुपैयाँ पुगिसकेको छ । नेपाल विदेशी ऋणको दलदलमा फसेको छ । एमालेले नौटंकी गर्नभन्दा अरु केही जानेको छैन् भन्ने त सबैले बुझेकै छन् । एमाले सरकारमा आयो भने अर्थतन्त्र सुध्रिन्छ, सेयर बजार ट्रयाकमा आउँछ, जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने ओलीको झुठको मुकुट जनताको सामुन्ने खुलिसकेको छ । आफ्नो कार्यकर्तालाई हल्ला फिजाउन लगाएर सेयर बजार बढाएजसो गरे ।

वास्तविकता अहिले सबैको अगाडि ‘दुधको दुध, पानीको पानी’ भइसकेको छ । अहिले सेयरको मूल्य घटेर २५ सयमा आएको छ । एमालेको दाबा त जम्मै झुठ्ठो भइसकेको छ । सेयरको मूल्य घटेपछि अर्थमन्त्री विष्णु पौडेल दौडिँदै नेप्सेको कार्यालयमा पुगे । आफ्नो र प्रधानमन्त्रीको पद र इज्जत जोगाइदिनपर्यो भन्दै पुगेका उनले जति नै गरेपनि अब सेयरको मूल्य बढ्दैन् ।

त्यो सामान्य नागरिकले पनि बुझिसकेका छन् । किन कि उद्योग व्यवसायी, कलकारखाना सबै धरासायी बनिसकेको छ । सेयर दलालीहरु उक्सिए तर सोझासाझी फसे । पौडेललाई अर्थमन्त्री बनाएर हामी उम्कियौं भनेर कोही हासिरहँदा कोहीको आँखामा टिलपिल आँशु छ । १८ सयको सेयर ३१ सयमा किन्नेहरु चुलुम्मै डुबे । उनीहरु सडक छाप बने । पौडेललाई अर्थमन्त्री बनाउनुहुन्न भनि पार्टीभित्रै विरोध भएको थियो ।

तर, ओलीले सेयर दलालीको कुरा सुनेर उनलाई प्रधानमन्त्री बनाइयो । पौडेल आए, केही दिन सेयरको मूल्य बढेजस्तो भयो, अहिले फेरि उही अवस्था । अरुले देश बनायो भन्ने एमालेले देश बनायो त ? ओली प्रधानमन्त्री भएपछि त देश झन्झन् नाजुक बनेको छ । जनता झनै आक्रोशित भएका छन् । अब उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाटो खुल्ला गरिदिँदा ठीक होला ।

किन कि उनी प्रधानमन्त्री बनेपछि जनता झनै डुबे । जनतामा नैराश्यता छायो । विदेशीले उनलाई पत्याउनन् । हुन त नेपाली जनताले नै उनलाई पत्याउँदैनन् । ओलीको पछाडि लाग्दा काँग्रेसको पनि पत्ता काटिएको छ । एमालेसँगै काँग्रेस पनि सति गयो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोप देउवापत्नी डा आरजु देउवामाथि लागेपछि काँग्रेसले हत्तपत्त एमालेसँग गठबन्धन गर्यो ।

एकले अर्कोलाई जोगाउने खेलमा देश बर्बाद बनाइयो । गिरीबन्धु टी स्टेटको जग्गा हिनामिनाको आरोप लागेको व्यक्ति देशको प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको बद्नामी भएको छ । जनताले पहिलो पार्टी बनाएपनि काँग्रेसले आफ्नो ‘स्ट्याण्ड’ लिन सकेन् । हामी असफल छौं भनेर काँग्रेसले आफ्नो मत एमालेलाई सुम्पिहाल्यो । जनताको मत काँग्रेसलाई धेरै सस्तो भयो ।

काँग्रेस र एमालेलाई भोट दिनुहुन्न भनेर सर्वसाधारणबीच बहस चलिसकेको छ। काँग्रेसलाई भोट दिएर सरकार चलाउन सक्दैनन्, एमालेलाई भोट दियो भने देशै सकाउँछ । त्यसैले यी दुई पार्टीलाई जरैबाट उखालेर फ्याँक्न जरुरी देखिएको छ। यता, अन्य पार्टीको अवस्था पनि त्यस्तै छ। सरकारबाट निस्किएपछि प्रचण्डको रमिता शुरु भइसक्यो। च्यातिएको सर्ट लगाएर, गाउँगाउँ पुगेर नौटंकी देखाएका छन्।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी पुष्टि भइसकेको छ। अन्य पार्टी पनि त्यस्तै छन्। देशमा भएको बेतिथि र विकृतिको विरोधमा अब जनता सडकमा आउने देखिएको छ।

ओली आज अमेरिका जाँदैछन्। उनी फर्किदाँ उनको पद रहने हो कि होइन् ? भनेर जनताले बहस गर्न थालिसकेका छन्। ओलीको त अहिले चौतर्फी विरोध छ। उनी आउँदा प्रचण्ड सरकारको श्रममन्त्री शरदसिंह भण्डारीको जस्तै हालत हुने हो कि।