दशैँ मुखमै,बजार सुनसान,सर्वसाधारणको गोजी रित्तो

नेपालीहरुको महान् चाड दशैं मुखमै आइसकेको छ । तर, यो वर्ष बजारमा चहलपहल छैन । अघिल्ला वर्षहरुमा दशैँ आउन एक÷डेढ मसिनाअगावै किनमेल शुरु हुन्थ्यो । यो वर्षको दशैं शुरु हुन केही दिन मात्रै बाँकी रहेपनि बजार सुनसान छ । आम सर्वसाधारण भन्छन्, ‘दशैं त आयो तर तलब आएन । कमाएर राखेको पैसा पनि सहकारीले खाइदियो । अनि किनमेल कसरी गर्नु । यो वर्ष साँच्चिकै दशैँ खल्लो नै हुने भयो ।

वर्षौभरी मानिसहरुले काम गरे । दिनरात खटेर । आफ्ना बालबच्चाको गाँस काटेर सहकारीमा रकम जम्मा गरे । दिनभर कमाएको रकमसहित पुख्र्यौली सम्पत्ति समेत बेचेर सहकारीमा बचत गरे । तर, सहकारीले रकम पचाइदिँदा आज उनीहरु दशैं समेत मान्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारी त भागिहाल्यो । अब ती बचतकर्ताहरुको पैसा कसरी फिर्ता आउँछ ?

यता, विभिन्न कम्पनी, संघसंस्था, फर्मलगायतमा काम गर्नेहरु तीन महिनादेखि एक वर्षसम्मको तलब नपाएको गुनासो गर्छन् । उनीहरुले महिनाको आठ÷दश हजारमा काम गरे । त्यो पनि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म । तर, काम गरेको कम्पनीले मन्दी छ भन्दै तलब नदिएपछि उनीहरु बिचल्लीमा परेका छन् । घरमा आमाबुबा, श्रीमती कुरेर बसेका छन् । छोरा वा श्रीमानले दशैं खर्च ल्याउँछन् भनेर ।

तर, अब घर पनि जाने पैसा नभएको भने उनीहरु बताउँछन् । अहिले अधिकांश संघसंस्था, फर्महरुमा काम गर्ने मानिसहरु भन्छन्, ‘यो वर्ष दशैंमा बिजोग हुने भयो । घर जान पनि पैसा छैन । झन् दशैं खर्च कसरी जुटाउने होला ।’ मुलुकभर ३५ हजारबढी सहकारी दर्तामा रहेका छन् । ३५ हजार सहकारीमा थोरै मात्र ठिकठाक रहेको पाइन्छ । अन्य सबै डुबेका छन्, भागेका छन् ।

नभागेका वा सञ्चालनमा रहेका सहकारीहरुले पनि बचतकर्ताहरुलाई झुक्राइरहेका छन् । बचतकर्ता निक्षेप फिर्ता माग्न जाँदा कहिले भोलि दिन्छु भन्छन् त कहिले जग्गा बेचेर दिन्छु भन्छन् । यसरी नै उनीहरुलाई बचतकर्तालाई वर्षौ अड्काइसकेका छन् । कतिपय सहकारीले त पछिल्लो समय नयाँ जुक्ति निकालेका छन् ।

उनीहरुले बचतकर्तालाई पैसाको साटो जग्गा दिन्छु भन्दै ग्रामीण भेगको जग्गा भिडाइरहेका छन् । त्यो पनि महँगोमा ।अहिले सेयरको मूल्य दिनानु दिन घटेको छ । ३१ सय बिन्दुमा पुगिसकेको सेयर २५ सयमा झरिसकेको छ । अब झ्न सय रुपैयाँमा झर्ने बताइन्छ ।

सेयर बैंकले सय रुपैयाँमा नै निष्काशन हो । त्यो त दलालीहरुको मिलेमतोमा यसको मूल्य बढाइयो । तर, अब बैंकले निकालेकै भाउमा सेयरको मूल्य झर्नेछ । किनकि कृत्रिम मूल्य धेरै समय टिक्न सक्दैन ।

चार वर्षअघि आनाको ५० लाखमा किनिएको जग्गा अहिले १०÷१२ लाखमा समेत बिक्री नभएको सुनिन्छ । ३० लाखमा किनेको सवारीसाधन पनि चार÷पाँच लाखमा बिक्री नहुने अवस्था निम्तियो । अहिले दशैँअघि नै काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख व्प्यापारिक केन्द्रहरुमै सटर खाली भएका छन् । दशैंपछि झन् बढी सटरहरु खाली हुने बताइन्छ ।

सटर मात्र नभई कोठा, फ्ल्याट पनि खाली हुदैँ गएका छन् । किनकि मानिससँग रोजगारी छैन । रोजगारी भएपनि तलब पाएको छैन भने महँगी बढ्दो छ । यसैले, मानिसहरु आफ्नो कोठा, फ्ल्याट, सटर नै खाली गरेर नफर्किने सोचमा गाउँघरतिर लागेका छन् । यो वर्ष दशैँमा गाउँघर जाने अधिकांश मानिस फकिने छैनन् ।

यता, बैंक पनि घाटामा गएको छ । बैंकबाट कर्जा लिने कोही छैन । कर्जा प्रवाह नभएपनि बैंकले आम्दानी कसरी गरोस् ? कसरी कर्मचारीलाई तलब दिइयोस् ? कसरी खर्च धानोस् ? दशैं मुखमै आएपनि व्यापारी तथा व्यवसायीहरु झिँगा धपाएर बसिरहेका छन् । उनीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो । एक जना पनि ग्राहक आउँदैनन् ।

व्यापारीदेखि यातायात व्यवसायी तथा हवाई कम्पनीहरुको लुट्ने बेला भनेकै चाडपर्वको समयमा हो । तर, यही बेला मानिससँग पैसा नहुँदा उनीहरु पनि निराश बनेका छन् । अहिले बजारमा एउटा कुराको खुब चर्चा छ, त्यो हो सुन । सुन व्यापारीहरु सर्वसाधारणलाई चाँहि सुन बेच्छन् । तर, सर्वसाधारणबाट भने सुन नकिनेको गुनासो आइरहेको छ ।

हामीसँग अहिले पैसा छैन । अन्तै गएर बेच्नुस् भनेर व्यापारीहरुले भन्ने गरेको आमनागरिक बताउँछन् । व्यापारीहरुलाई थाहा छ कि अहिले सुनको मूल्य कृत्रिम रुपमा बढाइएको हो ।त्यसैलै, उनीहरु महँगोमा सुन किनिरहेका छैनन् । अहिले महँगोमा सुन किने भोलि नराम्ररी डुब्नेमा उनीहरु प्रष्ट छन् ।

यता, कतिपय व्यापारीहरुले सुन किनेपनि तोकिएको मूल्य दिदैँनन् ।हामी सर्वसाधारण सुन किन्न गएमा विभिन्न शुल्क जोडेर तोलाकै दुई लाखसम्म असुल्छन् तर, जब हाम्रो बेच्ने पालो आउँछन्, तब व्यापारीहरु त्यँही सुन लाखमा झारिदिन्छन् ।

अहिले बजारमा सुनको मूल्य एक लाख ५६ हजार तीन सय रुपैयाँ छ । तर, सर्वसाधारण जनताले आफुसँग भएको सुन बिक्री गरेमा एक लाख मात्र पाएका छन् । सुन व्यापारीहरुले विभिन्न शुल्कको नाममा आम नागरिक लुटिरहेका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाका लागि काठमाडौं उपत्यकामा करोडमाथि मानिस बस्छन् । पहिलाका दशैंहरुमा उपत्यकाबाट २०÷२२ लाखको हाराहारीमा सर्वसाधारण आफ्नो गाउँघर जान्थे ।

यो वर्ष त्योभन्दा पनि बढी मानिसले उपत्यका छोड्ने र नफर्किने बताइन्छ । अहिले आएर मानिसहरुले बुझे कि यहाँ बस्न सकिदैँन । एकातिर घर भाडामा गएको छैन त अर्कोतिर भाडामा बसेकाले समेत पैसा तिरेका छैनन् । अनि त्यँही भाडामा आश्रित घरधनीहरु बिचल्लीमा परेका छन् । किनकि पैसाबिना सामान पाइदैँनन ।

फेरि इट्टा र डण्डी त खान पनि मिल्द्रैंन । नेता, सरकारी कर्मचारी र व्यापारीका लागि दशैँ जहिल्यै पनि आउँछ । तर, आम सर्वसाधारण भने वर्षमा एक चोटी आउने दशैँमा समेत न मिठो खान पाउँछन् न राम्रो लगाउन।

अहिले ८०÷९० वर्षका बुढाबुढी भन्छन्, ‘यत्रो महँगी र बेरोजगारी बढेको । सहकारी, लघुवित्त, फाइनान्सले यत्रो पैसा खाइदिएको। देशमा यस्तो मन्दी र आर्थिक संकट निम्तिएको हामीलाई अहिलेसम्म थाहा थिएन ।’

मुलुकको आर्थिक अवस्था यस्तो हुनुमा नेता र कर्मचारीहरुकै हात छ । सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सी जोगाउनुबाहेक केही चिन्ता छैन । बजारको मन्दी हटाउन न उनीहरु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउँछन् न त विदेशमा लुकाइएको रकम नै खोजतलास गरी राष्ट्रियकरण गर्न सक्छन् । अनि कसरी बजारको मन्दी हट्छ ? कसरी मुलुकको अर्थतन्त्रमा सुधार आउँछ।