नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टीले पार्टीको राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ। उक्त पार्टीले आज पत्रकार सम्मेलन गरी नेकपाको राजनीतिक कार्यदिशा सार्वजनिक गरिएको हो। 

उक्त कार्यक्रमलाइ सम्वाेधन गर्दै पार्टी संयाेजक वसन्त बाेगटीले  विद्यमान दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदीय प्रवृत्ति विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारले मात्र देशमा परिवर्तन सम्भव हुने बताए। 

उनले भने राष्ट्रिय मुक्ति क्रान्तिले जन संघर्ष र छापामार शस्त्रसंघर्षकाे दुवै तरिकाहरु अवलम्बन गरेर आन्दोलन पुनर्गठनको दृढ संकल्प सहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको बताए। कम्युनिस्ट पार्टीका साइनबोर्ड झुन्डाएर साम्राज्यवाद,दलाल तथा नोकरशाही पुँजिवाद र सामन्तवादको सेवा गर्ने नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्तिहरुबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गरिने बाेगटीले बताए। 

oppo_0

त्यस्तै उक्त कार्यक्रममा सह-संयाेजक हरिकृष्ण गजुरेलले नेपाल कम्युनिस्ट पार्टीले भूमि व्यवस्था पुनर्गठनको माग सहित सामन्ती लालपूर्जा खारेज र सम्पूर्ण सार्वजनिक अतिक्रमित भूमि जफत गरी राष्ट्रियकरण गर्न पार्टीले संघर्षको नेतृत्व गर्ने बताए।

साम्राज्यवादी प्रतिक्रियावादी संसदवादी गुट, दलाल तथा नोकरशाह,अभिजात सामन्त र बहुराष्ट्रिय कम्पनीको प्रभुत्वमा रहेको सम्पूर्ण पुँजी जफत र राष्ट्रियकरण गर्न पार्टीले जन संघर्षको देशव्यापी नेतृत्व गरेर अगाडि बढ्ने बताए।

उनले भने जनताको आवास, उत्पादन, स्वास्थ्य, शिक्षा र सुरक्षा आधारभूत र पूर्णतः राज्यप्रदत्त गर्ने संघर्षको देशव्यापी नेतृत्व आफ्नाे पार्टीले गर्ने दाबी गरे। मिटरब्याज, लघुवित्त र बैंकिङ शोषणका विरुद्ध जन प्रतिरोध संघर्षको देशव्यापी आन्दोलनकाे नेतृत्व गर्ने बताए। दलाल, भ्रष्ट र तस्करहरुका अखडाहरुमा छापामार अप्रेसनको नेतृत्व गरेर कारबाही अगाडि बढाउने बताए।

उक्त कार्यक्रमकाे सञ्चालन पार्टीका प्रवक्ता अर्जुनले गरेका थिए भने प्रेस विज्ञप्ति इन्दिरा अधिकारीले पढेर सुनाएकी थिइन । उक्त कार्यक्रममा  पार्टीका अन्य केन्द्रीय सदस्यहरूकाे पनि उपस्थिति रहेकाे थियाे। 

यस्तो छ पूर्णपाठ
हाम्रो पार्टी नेपालको समग्र कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदीय प्रवृत्ति विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारले गरेको ऐतिहासिक विद्रोहको जगमा उभिएको छ। यसलाई केवल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क.किरणसँगको विद्रोहको रुपमा बुझ्नु विद्रोहको खिलाफ हुन्छ। वास्तवमा यो विद्रोहले नेपालमा मालेमावादको विकासका लागि एक नयाँ चरणको प्रतिनिधित्व गर्दछ।

नेपाली समाजः नेपाल मुख्यतः नव औपनिवेशिक मुलुक हो। यहाँ इन्डो अमेरिकी साम्राज्यवादको राजनीतिक र आर्थिक प्रभुत्व कायम छ। सामान्यतः सुगौली सन्धिदेखि घरेलु प्रतिक्रियावादले साम्राज्यवादको सेवा र चाकरी गर्दै आएको छ।

आधारभूत अन्तरविरोध सम्बन्धिः विकासक्रमको विषेश कालखण्डमा कुनैपनि समाजको आधारभूत अन्तरविरोध एउटै किसिमको हुन्छ। यसबखत नेपालको सर्वहारा वर्ग एवं उत्पीडित राष्ट्र,समुदाय र साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावाद बीचको आपसी अन्तरविरोध नै वर्तमान नेपाली समाजको प्रधान अन्तरविरोध बन्न पुगेको छ।

नीति, कार्यक्रम र कार्यदिशा सम्बन्धि स्हाम्रो पार्टी पत्रकार एवं सम्पूर्ण प्रेस जगत मार्फत नेपाली जनताका बीचमा स्वाधीनता, सर्वहारा अधिनायकवाद र समाजवाद स्थापनाको दृढ संकल्प सहित राष्ट्रिय मुक्ति क्रान्तिको स–गौरव घोषणा गर्न चाहन्छ। राज्यसत्ताको वास्तविक मालिक कुनै इन्डो अमेरिकी दलाल हुन सक्दैन, केवल यहाँको सर्वहारा वर्ग, मजदुर किसान एवं उत्पीडित राष्ट्र र समुदायहरु हुन।

राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा नेपालको धर्तीमा मालेमावादको प्रयोग र विकास हो । यो नेपालको कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी र जनताको सामूहिक अनुभव र ज्ञानको सघनिकरण हो। यो साम्राज्यवाद, दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादका विरुद्ध जुध्न पार्टीले विकास गरेको क्रान्तिको नयाँ वैचारिक मार्ग र हतियार हो।

राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली जनता र राष्ट्रलाई नव औपनिवेशिक साम्राज्य राज्य र आन्तरिक उपनिवेशबाट पूर्णतः मुक्त गर्नेछ । नयाँ जनवादी कार्यभार पुरा गरी समाजवादी गणतन्त्र नेपालको स्थापना गर्नेछ। सर्वहारा अन्तर्राष्ट्रियतावादको रक्षा र विश्व क्रान्तिको सेवा गर्नेछ। राष्ट्रिय मुक्ति क्रान्तिले संघर्षका दुवै तरिकाहरु अवलम्बन गर्ने । क- जन संघर्ष, ख-छापामार संघर्ष ।

पार्टी नाम सम्बन्धिः कम्युनिस्ट आन्दोलन पुनर्गठनको दृढ संकल्प सहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ। कम्युनिस्ट साइनबोर्ड झुन्डाएर साम्राज्यवाद, दलाल तथा नोकरशाही पुँजिवाद र सामन्तवादको सेवा गर्ने नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्तिहरुबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गरिनेछ ।

पार्टीको संगठनात्मक प्रणाली र केन्द्रीय पार्टी संगठनः

पार्टी भनेको अवलम्बन गरेको नीति, कार्यक्रम, कार्यदिशा र विधान एवं जनवादी केन्द्रीयताको सिद्धान्तमा संगठित विपरितहरुको एकत्व हो । पार्टीको नेतृत्वदायी निकायहरू एकमा तीनको सिद्धान्त अनुसार वृद्ध, प्रौढ र युवाहरूको वैज्ञानिक प्रतिनिधित्वका आधारमा उच्च जनवादी छलफल र निर्वाचनद्वारा चयन हुनेछन । एकता/संघर्ष/रुपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधिद्वारा पार्टीलाई उन्नत र अभेद्य गरिनेछ । केन्द्रीय पार्टी संगठनमा संयोजक, सह-संयोजक, कार्यालय, सचिवालय र केन्द्रीय समितिको गठन गरिएको छ। सिङ्गो देशलाई विभिन्न भौगोलिक कमान्डले नेतृत्व गर्नेछन। पार्टीका आवाजहरु द्रुत सम्प्रेषणका निम्ति पार्टी प्रवक्ताको चयन गरिएको छ।

संयुक्त मोर्चा सम्बन्धिः मजदुर, किसान, उत्पीडित राष्ट्र, समुदाय, बुद्धिजीवी, व्यापारी, जनवादी,समाजवादी र देशभक्त शक्तिहरुका बीच बृहत राष्ट्रिय एकता कायम गर्ने महान उद्देश्यका साथ राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाको गठन गरिएको छ।

राष्ट्रिय मुक्ति मार्च सञ्चालन सम्बन्धिः पार्टीको सुदृढ नेतृत्वमा अविलम्ब राष्ट्रिय मुक्ति मार्च सञ्चालन गरिनेछ। पार्टीले स्थानीय सत्ताको अभ्यास सहित स्वाधीनता, सर्वहारा अधिनायकवाद र समाजवाद स्थापनाको संघर्षमा जनता र राष्ट्रको नेतृत्व गर्नेछ।

संघर्ष सम्बन्धिः नेपाल कम्युनिस्ट पार्टीले भूमि व्यवस्था पुनर्गठनको माग सहित सामन्ती लालपूर्जा खारेज र सम्पूर्ण सार्वजनिक अतिक्रमित भूमि जफत गरी राष्ट्रियकरण गर्ने संघर्षको नेतृत्व गर्नेछ। साम्राज्यवादी प्रतिक्रियावादी संसदवादी गुट, दलाल तथा नोकरशाह, अभिजात सामन्त र बहुराष्ट्रिय कम्पनीको प्रभुत्वमा रहेको सम्पूर्ण पुँजी जफत र राष्ट्रियकरण गर्ने संघर्षको देशव्यापी नेतृत्व गर्नेछ। जनताको आवास, उत्पादन, स्वास्थ्य, शिक्षा र सुरक्षा आधारभूत र पूर्णतः राज्यप्रदत्त गर्ने संघर्षको देशव्यापी नेतृत्व गर्नेछ। मिटरब्याज, लघुवित्त र बैंकिङ शोषणका विरुद्ध जन प्रतिरोध संघर्षको देशव्यापी नेतृत्व गर्नेछ। दलाल, भ्रष्ट र तस्करहरुका अखडाहरुमा छापामार अप्रेसनको नेतृत्व गर्नेछ।

विदेशी मदिरा, शृङ्गार र ५० लाखभन्दा माथिका यातायातका साधनहरुको आयातमा प्रतिबन्ध गर्ने लगायतका संघर्षको नेतृत्व गर्नेछ। सामूहिक कृषि प्रणाली र उत्पादनमा विशेष जोड सहित किसानहरूका लागि जमिन, बिज, मल, सिप, उपकरण र बजार सुनिश्चितता गर्ने संघर्षको नेतृत्व गर्नेछ। राष्ट्रिय तथा प्रगतिशील पुँजीपति वर्गको उद्योग, वाणिज्यको रक्षा र विकास गर्ने संघर्षलाई नेतृत्व प्रदान गर्नेछ।

दलित, जनजाति, मधेसी, मुस्लिम, अन्य समुदाय र सम्पूर्ण उत्पीडित राष्ट्रहरुको मुक्तिको संघर्षलाई नेतृत्व प्रदान गर्नेछ। साम्राज्यवादी सेना फिर्ताको संघर्ष, गोर्खा भर्ती केन्द्र खारेजीको संघर्ष, राष्ट्रिय स्वाधीनताको संघर्षलाई नेतृत्व प्रदान गर्नेछ। स्वाधीनता, सर्वहारा अधिनायकवाद र समाजवाद स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको नेतृत्व गर्नेछ।