पार्टीभित्रको अराजक गतिविधिलाई छुट हुँदैन: अध्यक्ष नेपाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन्।
पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारेका हुन्।
महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरङ्ग नै पैदा गरेको उनले बताए।
उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे।अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा भद्दा हुदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताए।
देशको हितमा आट र हिम्मतका साथ आफ्नो कुरा विश्व माझ राख्न सक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उनले बताए।त्यस्तै खनालले पश्चगामी ढङ्गले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पारे।