आज यी प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं।देशभर मनसुनी वायुको प्रभाव कायमै छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर रहेको जनाएको छ। यो भनेको न्यूनचापीय रेखा नेपालभन्दा पर छ भनिएको हो।

न्यूनचापीय रेखा नेपाल नजिक हुँदा यसले प्रभाव पार्ने क्षेत्रहरूमा भारी वर्षा गराउँछ। मनसुनको अवधीभरी न्यूनचापीय रेखा उत्तर र दक्षिणमा सर्ने क्रम चलिरहन्छ।

आइतबार यो रेखा दक्षिणतिर रहेका कारण महाशाखाले भारी वर्षाको पूर्वानुमान गरेको छैन। ‍यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभाका थोरे स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ।

महाशाखाले आइतबार बिहान पनि कर्णाली प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको जनाएको छ।

राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

मनसुनको अवधि बाँकी नै रहेका कारण पानी पर्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। नेपालमा मनसुन बाहिरिने मिति अक्टोबर २ मानिएको छ। त्यसकारण त्यतिबेलासम्म मौसम सफा रहने र वर्षा हुने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

यद्यपि सेप्टेम्बरदेखि मनसुनको प्रभाव कमजोर हुँदै जाने हुँदा लगातार भारी वर्षा हुने सम्भावना भने कम रहन्छ।