जनमोर्चाद्वारा संघीयताविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ। चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले १७ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । यही असोज ४ र ५ गते बसेको जनमोर्चाको परिषद्को दोस्रो बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ। यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको आन्दोलन हो।

यदि सङ्घीयता खारेज नभएमा मुलुक झन्पछि झन् विदेशी ऋणको मारमा पर्ने छ’ जनमोर्चाद्वारा विज्ञप्तिमा भनिएको छ ‘संघीयताबाट देशको सार्वभौमसत्ता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने भएकोले यो आन्दोलन मुलुकलाई माया गर्ने सम्पूर्ण देशभक्तहरूको आन्दोलन हो।

बुटवलमा सम्पन्न बैठकले नेपाली काँग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको विषयलाई राजा तथा राजावादी शक्तिहरूले राजतन्त्रको पुनर्स्थापनाका लागि प्रयोग गर्न सक्ने खतरा रहेको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसको महासमितिभित्र संवैधानिक राजतन्त्रका पक्षधरहरू बहुमतमा छन्। त्यो पक्षले लगातार गणतन्त्रको विरोध गर्दै राजासहितको प्रजातन्त्रमा जोड दिने गरेका छन्।

नेपाली कांग्रेसभित्रको वैधानिक राजतन्त्रका पक्षधरहरूले संविधान संशोधनलाई वैधानिक राजतन्त्रको पुनर्स्थापनाको रूपमा प्रयोग गर्न सक्ने सम्भावना पनि रहेको छ।

अन्ततः राजा, नेपाली कांग्रेसभित्रको संवैधानिक राजतन्त्रका पक्षधर तथा भारतीय साम्राज्यवादका बिच जुनसुकै रूपको भए पनि राजतन्त्र पुनर्स्थापनाका लागि साँठगाँठ हुन सक्ने सम्भावना पनि रहेको छ।