धनुषा प्रहरीको हिरासतबाट ८ जना थुनुवा भागे

काठमाडौं। विभिन्न मुद्दामा पक्राउ परेका ८ जना थुनुवा धनुषा प्रहरीको हिरासतबाट भागेका छन्। आज बिहान करिब ४ बजेका समय भेन्टिलेशन फोडेर लागुऔषध मुद्दा र अभद्र व्यवहारमा पक्राउ परेका ८ जना थुनुवा फरार भएका हुन्।

हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए

उनका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा,रंजित मण्डल,रोशनकुमार मण्डल,अभास्कर कुमार यादव,विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन्।

उनीहरुको खोजी गर्न प्रहरीले रातिदेखि नै विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ। सीमा क्षेत्रमा समेत निगरानी बढाइएको धनुषा प्रहरीले जनाएको छ।