आइसिसी विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार

काठमाडौं। क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। तेस्रो पराजय बेहोर्ने क्रममा नेपाल आइतबार बिहान सम्पन्न खेलमा क्यानडासँग ५ विकेटले पराजित भयो।

नेपाल पहिलो खेलमा क्यानडासँग नै १ सय ३ रनले पराजित भएको थियो। यस्तै, नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले स्तब्ध भयो। जारी श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रनमै अलआउट भयो।

नेपालका लागि खेलमा सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले। उनले ४८ बलमा पाँच चौका र एक छक्कासहित ४९ रन बनाए। उनको यो अन्तर्राष्ट्रिय क्रिकेटमा करियरकै उत्कृष्ट ब्याटिङ हो। उनले सोमपाल कामीसँग ५५ रनको साझेदारी गर्दै टिमको पारी केही हदसम्म उकासे। सोमपाल ३८.४ ओभरमा २१ रनमा आउट हुँदा नेपाल ८ विकेट गुमाएर १४२ रन जोडेको स्थितिमा थियो।

उनी आउट भएपछि केही समय सन्दीप र करण क्रिजमा जमे। करण र सन्दीपबीच ३९ रनको साझेदारी बन्दा नेपालले १८१ रन जोड्यो। यस खेलमा करणले २८ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे। यस्तै गुल्सन झा ले ३४ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले राम्रो अंक जोड्न सकेनन्।

बलिङमा क्यानडाका लागि कलीम सानाले तीन, डिलन हेलिगर र हर्ष ठाकरले दुईरदुई तथा सादबिन जाफर र प्रवीण कुमारले एकरएक विकेट लिए। नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। उसका लागि नवनीद धालिवालले ८७, प्रगत सिंहले ६४, हर्ष ठाकरले १३ तथा कप्तान निकोलस किर्तनले अविजित ११ रन बनाए।

बलिङमा सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ४२ रन दिएर सर्वाधिक २ विकेट लिए । यस्तै, करण केसी, गुलशनकुमार झा र ललितनारायाण राजवंशीले एकरएक विकेट हात पारे। टिमका सर्वाधिक अनुभवी बलर सोमपाल कामी भने तेस्रो खेलमा पनि विकेटविहीन रहे। उनले यस खेलमा ६ ओभरमा बिनाविकेट २६ रन दिए।

यो जितपछि क्यानडा लिग–२ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ११ म्याच खेल्दा १४ अंक जोडिसकेको छ। नेपाल भने तालिकाको सातौं स्थानमै छ। नेपालले अहिलेसम्म सात म्याच खेल्दा ६ मा पराजय र एक खेलमा मात्र जित दर्ता गरेको छ। नेपालले अब लिग–२ मा सातौं खेल मंगलबार ओमानसँग खेल्ने तालिका रहेको छ।