बलात्कार र लुटपाट आरोपमा आमाको किरिया बसिरहेका युवक पक्राउ
काठमाडौं। डोटीमा २० वर्षीया युवती बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। भदौ अन्तिम साता आदर्श गाउँपालिका–६ की एक युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरिएको हो।
बलात्कार आरोपमा आमाको किरियामा बसेका सोही ठाउँका रैकाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटी डीएसपी भीमलाल भट्टराईले बताए।
बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ। घटनापछि रैकाल फरार भएका थिए। शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन्।
आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो।