ओलीले मोदीसँग चुच्चे नक्साको विषयमा कुरा गर्न नसकेको भीम रावलको आरोप

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरु मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका हुन्।

उनले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरु चल्न नसक्दा अस्थीरता अन्त्य हुन नसकेको धारणा राखे। रावलले केन्द्रमा सरकार फेरवदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसंग काम गर्न नसकेको जिकिर गरे।

उनले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पिडितलाई ठगि गर्नेबाट असुलउपर गरेर उपलव्ध गराउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको विषयमा पनि प्रश्न उठाए। नेता रावलले अमेरिकामा प्रधानमन्त्री ओलीले मादीसँग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे।

उनले भारतीय नेतृत्वसँग कुरा गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधूरासहितको चुच्चे नक्साको विषयमा कुरा नउठाएको आरोप लगाए।