गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान

पोखरा। सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीविरुद्ध ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कास्की प्रहरीले सोमबार अदालतबाट अनुमति पाएको छ। कास्की अदालतका न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा आइतबार साँझ जोशीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरी कास्की ल्याइएको थियो । प्रहरीले जोशीविरुद्ध सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुरमा अनुसन्धानका लागि म्याद मागेको थियो ।

जोशीका तर्फबाट उनकै छोरा अधिवक्ता रोचक जोशी, पोखराका अधिवक्ताद्वय रोहितराज बास्तोला र कृष्ण थापाले बहस गरेका थिए । राज्यको उच्च ओहदामा रहिसकेको व्यक्ति कतै भाग्ने योजना नरहेको अवस्थामा जरुरी पुर्जी थमाएर पक्राउ गर्नु गैरकानुनी र न्यायसंगत नरहेकाले थुनामा राख्नु नपर्ने उनीहरूको तर्क थियो।

इजलासमा छविले आफू गलत संगतमा परेको थाहा पाएपछि कानुनी रूपमा पैसा फिर्ता लिएर गोर्खा मिडिया नेटवर्कबाट अलग्गिएको बताए । २०७८ सालमै आफ्नो ३५ प्रतिशत सेयरबाट १५ प्रतिशत रवि लामिछानेका नाममा पास गरेको बयान उनले दिए । ‘सहकारी ठगी गर्ने मान्छे अरू नै छन्,’ उनले बयानमा भने, ‘अनुसन्धानमा साथ दिन्छु।

गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष, जोशी उपाध्यक्ष, हाल रास्वपा सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्य रहेर गोर्खा मिडिया नेटवर्क प्रालि खोलेका थिए।

जसमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन राई, जोशी र लामिछानेले संयुक्त खाता खोलेका थिए ।

जीबी समूहको सहकारीको कारोबार भएको सफ्टवेयर प्रहरीले उनको घरबाट बरामद गरेको थियो । त्यसपछि प्रहरीले सूर्यदर्शनको २०७६ सालअघिका सञ्चालक समितिमा रहेका थप २५ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा चलाएको थियो।

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले जीबी, रवि र छविका नाममा खोलिएको संयुक्त खाताबाटै सूर्यदर्शनसहित विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ आएको उल्लेख गरेको छ। यस प्रकरणमा संसदीय समितिले ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने उल्लेख गरेको छ ।

समितिको प्रतिवेदन प्रतिनिधिसभा, मन्त्रिपरिषद्, गृह मन्त्रालय हुँदै आइतबार प्रहरी प्रधान कार्यालय पुगेको थियो। प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पठाएकै दिन जोशीलाई पक्राउ गरी कास्की ल्याइएको थियो।

हाललाई दुई वटा कसुरमा बयान अगाडि बढाइने र अनुसन्धान गर्दै जाँदा अन्य कसुर आकर्षित भए सोहीअनुसार अदालतबाट म्याद थपका लागि अनुरोध गरिने प्रहरीको तयारी छ।

यसबीच, सहकारी ठगीमा मुछिएका रास्वपा सभापति लामिछानेलाई पक्राउको माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन्।

पोखराका सूर्यदर्शन लगायत सहकारीका पीडितहरूले प्रदर्शन गरेका हुन्। पोखराकै सहिद चोकमा भने रास्वपाका कार्यकर्ताहरूले ‘लामिछानेलाई फसाउन पाइँदैन’ भन्दै प्रदर्शन गरेका थिए।