सुदूरपश्चिममा क्रिकेट खेलाडीलाई तलब दिने तयारी
धनगढी। सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन तलव दिने तयारी गरेको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहर नै चलेपछि सो समस्या समाधान गर्न यस्तो प्रयास थालिएको हो।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले प्रदेशका १० जना उत्कृष्ट महिला तथा पुरुष क्रिकेट खेलाडीलाई मासिक तलब दिने तयारी भएको बताए। पाँच जना खेलाडीलाई नेपाल क्रिकेट संघले दिने बताएको छ। अन्य १० जनालाई प्रादेशिक क्रिकेट संघले यही असोजकै महिनाबाट १५ हजार रुपैयाँ तलब दिने योजना बनाएको छ।
अध्यक्ष जोशीका अनुसार क्रिकेट खेलाडीलाई तलब दिन निजी क्षेत्रबाट प्रायोजक खोज्ने काम भइरहेको छ। धनगढी नेपालमै क्रिकेटको शहरका रूपमा परिचित छ। सुदूरपश्चिम प्रदेशका थुप्रै खेलाडीले अहिले पनि नेपालको प्रतिनिधित्व गरेर क्रिकेट खेलिरहेका छन्।
यस्तै, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशका सबै जिल्लाको संयोजनमा फारवेस्ट क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने जनाएको छ।