दुर्गा प्रसाईँ पक्राउले बैंक डुब्ने चर्चा,टाट पल्टिने अवस्थामा पुगेकै हो त बैंक ?

 तीन वर्षअघिदेखि बजारमा एउटा कुरा निकै चर्चामा थियो । त्यो हो मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट दश अर्ब ऋण लिए तर साँवा र ब्याज तिरेनन् । त्यसमा पनि कमसल धितो राखेर । उनले एउटै बैंकबाट दश करोडको धितो राखेर एक अर्बभन्दा बढी कर्जा लिएको बताइन्छ । दुर्गा प्रसाईँका कारण बैंक डुब्ने भयो भनेर धेरैले भन्न थालिसकेका थिए।

हुन त प्रसाईँले बैंक, वित्तिय संस्थाविरुद्ध अभियान नै चलाए। उनले बैंक, लघुवित्त, फाइनान्स, सहकारीका कर्मचारीहरु कर्जा माग्न आए भने कालोमोसो दलेर, कुटेर पठाउनु भनेर भन्थे । अहिले विद्युतीय अपराधसम्बन्धी कसुरमा प्रसाईँ प्रहरी नियन्त्रणमा पुगेका छन्। उनी पक्राउ परेसँगै अहिले बजारमा बहस शुरु भएको छ कि बैंकले आफ्नो कर्जा कसरी उठाउँछ ?

अधिकांशले भन्न शुरु गरिसकेका छन् कि अब बैंक डुब्छ । यसअघि भाटभटेनीका साहु मीनबहादुर गुरुङलाई बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको थियो । उनी पक्राउ पर्दा धेरैले बैंक डुब्ने दाबी नै गरेका थिए । तर, पछि उनी धरौटीमा छुटेका हुन् । यद्यपि, उनलाई अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ ।

अब उनी पनि कुन दिन पक्राउ पर्ने हो ? यो हेर्न बाँकी छ । बैंक बाँसबारी र ललिता निवास जग्गामा लगानी गर्दा नै डुबिसक्यो । किनकि बैंकले त्यो जग्गामा अर्बौ लगानी गरेको थियो। तर, त्यो जग्गा सरकारले आफ्नो नाममा ल्याएसँगै बैंकको लगानी जोखिममा परेको छ ।

बैंकहरुले एउटै व्यक्तिलाई करोडदेखि अर्बसम्म कर्जा दिएका छन् । भाटभटेनी साहु गुरुङ र दुर्गा प्रसाईँले बैंकबाट ऋण लिँदा धितो राखेको भनेको त्यँही घरजग्गा नै हो । दलालीहरुले खेतीयोग्य जमिन प्लाटिङ गरे । किसानसँग रोपनीको एक लाखमा खेतीयोग्य जमिन किनेर टुक्राटुक्रा बनाएर आनाकै ६०÷७० लाखमा बेचबिखन गरियो ।

जग्गाको मूल्य कृत्रिम रुपमा बढाइएको थियो । अनि त्यँही जग्गा बैंकमा धितो राखी व्यापारीदेखि सर्वसाधारण, नेता, कर्मचारी समेतले ऋण लिए । अहिले बैंकले जति पनि मानिसलाई कर्जा प्रवाह गरेको छ, त्यो सबै घरजग्गा, गाडी र सेयरमा पाइन्छ । पछिल्ला दिनयता बजारमा एउटा कुराको खुब चर्चा छ ।

टिकाथली, नरेफाँट, जडीबुटी, लोकन्थली, मूलपानी, काँडाघारी, पेप्सीकोला, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाट, एयरपोर्ट, सिनामंगल, गौरीगाउँ, शान्तिनगर, तीनकुने, कोटेश्वर र थानकोट आसपासको घरजग्गा किन्नुहुन्न भनेर बहस शुरु भएको छ। किनकि गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्लेन दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए।

यसअघि पनि एयरपोर्टमा पटकपटक विमान दुर्घटना भइसकेको छ। त्यसैले, यो क्षेत्रमा एयरपोर्ट उड्नु भएकाले जोखिम बढेकाले एयरपोर्ट वा बस्ती सार्न समेत आवाज उठिसक्यो । यता, थानकोटमा हवाई इन्धन, पेट्रोल, डिजेलको ठुलो डिपो छ।

यसले पनि जोखिम निम्त्याउने हुँदा यो क्षेत्रको घरजग्गा किन्नुहुदैँन भनेर भन्न थालिसकिएको छ । यता, सिंहदरबारपछाडि कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानस्थान, बिजलुीबजार र सिडियो कार्यालय पछाडिको जग्गा पनि सरकारी हो भनेर बहस चलिसकेको छ । यो ठाउँको जग्गा २०४६ सालअघि सरकारको थियो।

त्यतिबेलाका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिंहदरबारपछाडि बाटो खोलिदिनेवित्तिबै यो ठाउँको सरकारी जग्गा व्यक्तिको नाममा गएको हो । यसमा नेतादेखि दलाली, कर्मचारी समेतको हात रहेको पाइन्छ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी, खोला किनार वरपर घर बनाउँदा अनिवार्य ४० मिटर छोड्नुपर्ने आदेश दिइसकेको छ ।

योसँगै नदी, खोला आसपासका अधिकांश घर भत्काउनुपर्ने भएको छ । त्यसमाथि त्यस्ता घरमा बैंकको धेरै लगानी रहेको छ । जसले बैंक डुब्ने संकेत देखिएको छ । ०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले बालुवाटार र थानकोटको मातातीर्थको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएका थिए ।

०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटार, कालोपुलसहित काभ्रेस्थित ह्जारौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरेका थिए । ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे ।

०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा गिरिबन्धुको बाँकी सरकारी जग्गा पनि व्यक्तिको नाममा पास गरिदिने निर्णय गरियो । ०७८ वैशाख ७ र १३ गतेको मन्त्रिपरिषद् बैठकले पनि गिरिबन्धुको सम्पूर्ण सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गर्यो । त्यतिबेला प्रधानमन्त्री केपीशर्मा ओली नै थिए ।

अहिले चुच्चेपाटीस्थित हायत होटल बनेको जग्गा सरकारी जग्गा हो। तर, व्यक्तिको नाममा पास गरेर होटल बनाइयो । यता, ललितपुरको हरिसिद्धिको सरकारी जग्गा पनि व्यक्तिको नाममा पास गरिएको छ।

देशभरीको गुठीदेखि सरकारी, सार्वजनिक, मठमन्दिर सबैको जग्गा राजनीतिक दलदेखि कर्मचारी, दलाली, व्यापारी, कानून व्यवसायीको मिलेमतोमा व्यक्तिको नाममा लगिएको छ।

रोचक कुरा त के छ भने नि बैंकहरुले यस्तै जग्गा र त्यसमा बनेका संरचना धितो राखेर अर्बौ कर्जा प्रवाह गरेका छन्। अनि कसरी बैंक सेभ लाइनमा छ ? बैंकले नै सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३२ सय पुर्याए। अहिले फेरि मूल्य घटेर सेयर सय रुपैयाँमा समेत बिक्री नहुने अवस्था आएको छ।

भारतबाट दुई लाख पर्ने गाडी किनेर ल्याएर यहाँका अटो शोरुमहरुले ३०÷३५ लाखमा बेचे। अहिले त्यो गाडी किन्नेहरु चुलुम्मै डुबेका छन्। किनेकोभन्दा आधा मूल्यमा गाडी बेच्छुभन्दा समेत बिक्री भइरहेको छैन। ०२९ वैशाखमा सुनको मूल्य प्रतितोला ३१६ रुपैयाँ रहेको थियो । तर, ०८१ ऋसोज ७ गते सुन तोलाकै एक लाख ५९ हजार दुई सय रुपैयाँ पुग्यो।

जसरी अहिले महँगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु डुबेका छन्, त्यसरी नै अब सुन किन्नेहरु डुब्नेछन्। हिजो सहकारी डुब्दा बचतकर्ताको रुवाबासी भयो। ३५ हजारबढी सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम खाइदिएको छ। लघुवित्त र फाइनान्समा बचत गर्ने सर्वसाधारणको पनि यस्तै अवस्था भएको छ।

उनीहरु आफ्नै पैसाका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्। दिनरात आन्दोलन गर्दा पनि केही लागेन। अब बैंकमा बचत गर्ने सर्वसाधारणको पनि यस्तै हालत हुने छ । अहिले बैंक डुबिसक्यो भनेर पुष्टि भइसकेको छ । तर, यसलाई अनदेखा गर्नेहरु सहकारीका बचतकर्ता जसरी पछुताउनु पर्ने छ।

हिजो सहकारी डुब्दा अधिकांशले पत्याएनन्। हामीले बचत गरेको सहकारी विश्वासनीय छ भनेर समयमै निक्षेप निकालेनन्। अनि अहिले सहकारी भागेपछि निक्षेप फिर्ता माग्दै कहिले प्रहरी चौकी धाउँछन् त कहिले स्थानीय तह। भनिन्छ नि बुझ्नेका लागि इसारा नै काफी। अहिले बैंक डुब्न लागेको सुराक पाएकाहरुले आफ्ना बचत निकाल्न थालिसकेका छन्।

तर, अहिले पनि विश्वास वा भ्रममा पर्नेहरुको भने ठुलो रकम डुब्ने देखिएको छ। बैंकले घुसको आडमा कमसल धितो राखेर ठुला व्यक्ति तथा व्यापारीलाई कर्जा प्रवाह गरेको छ। अहिले तीनै व्यक्ति तथा व्यापारीले साँबाब्याज नतिर्दा बैंक टाट पल्टिने अवस्थामा पुगे्को छ। बैंकमा समस्या देखिसकेको छ। तर, राष्ट्र बैंक अझै लुकाइरहेको छ।

हुन त बैंकहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढिरहन्छ भनेर सोचेका थिए। यीनीहरुले बजारमा मन्दी आउला। घरजग्गा, गाडी र सेयरको मूल्य घट्ला भनेर कल्पना समेत गरेका थिएनन्। बैंकले सोचविचार नगरी जथाभावी कर्जा प्रवाह गर्दा आज टाट पल्टिने अवस्थामा पुगेको हो।

अझै पनि बैंकले होश नपुर्याउने हो भने मुलुककै अर्थतन्त्र ध्वस्त हुने छ। बैंक, वित्तिय संस्थाको देशको अर्थतन्त्रमा ठुलो योगदान छ । तर, यीनीहरुले नै होश नपुर्याउँदा समस्या निम्तियो। अहिले बैंकमा बचत गरेका सर्वसाधारण त्रसित छन्। किनकि बैंक डुब्नासाथ बचतकर्ताको खर्बौ रकम पनि डुबिने छ।