पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषा सिकाइँदै

काठमाडौं। देशका विभिन्न सामुदायिक स्कुलहरूमा जातीय बाहुल्यताका आधारमा विभिन्न जातजातिका भाषालाई अतिरिक्त कक्षाका माध्यमबाट अध्ययन गराएको त हामीले सुनेका थियौ। तर पोखरा महानगरपालिकाका १० वटा सामुदायिक विद्यालयहरूमा चिनिया भाषाका कक्षा सञ्चालन भएका छन्।

मातृभाषा बाहेक थप अन्य भाषाको ज्ञानले व्यक्तिगत रूपमा सँगसँगै पर्यटन प्रवद्र्धनमा समेत विशेष सहयोग पुग्ने भएकाले यसरी चिनिया भाषाको कक्ष सञ्चालन गरिएको हो।

झट्ट हेर्दा र सुन्दा यो कक्षा सञ्चालन नेपालमा नभई चीनको कुनै स्कुलको हो भन्ने लाग्ला । नलागोस् पनि कसरी चिनिया नागरिकले चिनिया भाषामै यसरी कक्षा सञ्चालन गरिरहेकी छिन्। पढाउने शिक्षिका चिनिया नागरिक भएपनि यी विद्यार्थीहरू भने नेपाली हुन् र स्कुल पनि नेपालकै हो।

पोखरा महानगरपालिका सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयको दृश्य हो यो। जहाँ चिनियाँ भाषाको कक्षा सञ्चालन भइरहेको छ । नेपालको सामुदायिक स्कुलमा किन यसरी चिनिया भाषाको कक्षा दिइएको होला भन्ने लाग्ला तपाईँलाई, यसको एक मात्र उद्देश्य हो, विद्यार्थीहरूमा व्यक्तिगत भाषा विकास र चिनिया पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनका लागि निःशुल्क चिनिया भाषा कक्षा सञ्चालन गरिएको हो।

पोखरा महानगरपालिका र चिनियाँ दुतावास बीच भएको सम्झौता अनुसार पोखराका १० वटा सामुदायिक विद्यालयहरूमा पहिलो चरण अन्तर्गत एक वर्षसम्म चाइनिज भाषाको अतिरिक्त कक्षा सुरु भएको हो।

अहिले पोखराका पार्दी माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय, जनप्रकाश माध्यमिक विद्यालय, छोरीपाटन माध्यमिक विद्यालय, लक्ष्मी आदर्श माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विद्यालय, विष्णुपादुका माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयमा चाइनिज भाषाको अतिरिक्त कक्षा सञ्चालन भइरहेको छ।

चिनिया भाषा अध्ययन गर्न पाउँदा विद्यार्थीहरू पनि निकै उत्सुक देखिन्छन्। पोखरा पर्यटकीय राजधानी भएको हुनाले र चिनिया पर्यटकको गन्तव्य भएकोले पनि आफूले सिकेको चिनिया भाषा प्रयोगमा आउने विद्यार्थीहरूको अनुभव छ।

नेपालमा आएर चिनिया भाषा सिकाउँदा सुरुमा एकदमै अप्ठेरो लागे पनि कक्षामा विद्यार्थीहरूसँग घुलमिल भएपछि भने निकै रमाइलो भएको तथा विद्यार्थीहरू पनि चिनिया भाषा सिक्न इच्छुक भएकाले आफूलाई निकै सहज भएको चिनिया भाषा शिक्षक बताउँ छिन् ।

पोखरा मात्र नभई सिङ्गो नेपाल नै पर्यटकीय देश हो। यहाँ विश्वका विभिन्न राष्ट्रबाट पर्यटकहरू घुम्न आउँछन्। तर भाषाको अज्ञानताका कारण पर्यटकले पनि दुःख पाउने र उनीहरूलाई स्वागत गर्नेहरुले पनि दुःख पाउने गर्दछन्।

त्यसैले पर्यटकीय देशमा हरेक भाषाका जानकारहरू उत्पादन गर्नु यहाँको दायित्व हो। त्यही दायित्व अनुसार पहिलो चरणमा विद्यालय स्तरबाटै चिनिया भाषाको अतिरिक्त कक्षा सञ्चालन गरेको र आगामी दिनमा जर्मन, फ्रान्सेली भाषाको कक्षा पनि सञ्चालन गर्ने तथा पर्यटन प्रवर्द्धन गर्ने बताउँछन् पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ।

पोखरामा चिनियाँ पर्यटक बढेको अवस्थामा भाषा सम्बन्धी ज्ञान भएका दक्ष जनशक्ति पर्याप्त नहुँदा चिनिया पर्यटकहरूले दुःख पाउँदै आएका छन्। तर यसरी विद्यालय स्तरबाटै पर्यटन लक्षित भाषा कक्षा सञ्चालन हुँदा भविष्यमा युवाहरु आफै स्वरोजगार हुने तथा अवसरका अन्य ढोकाहरू पनि खुल्नेमा कुनै दुई मत देखिँदैन।