शेयर बजार झन्डै ५९ अंकले घट्यो

काठमाडौं। शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ। सोमबार ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ। आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ।