ओलीलाइ पन्छाउने रणनितिमा विद्या,एमालेको गुट स्पष्ट

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पार्टी भित्र अस्वभाविक सक्रियता देखिन थालेको छ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका बेला एमाले भित्र गुट रहेको स्पष्ट भएको छ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली केही दिनदेखि अमेरिकामा छन्। यही बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका अभिव्यक्ति भने अध्यक्ष ओलीलाई नै टप्नेखालका आइरहेका छन्। जसले केही समय सेलाएको भण्डारी राजनीतिमा फर्किने चर्चा फेरि चुलिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा चलेको धेरै भइसक्यो। पटक पटक एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथिकै रुपमा देखा पर्ने गरे पनि राजनीतिमा फर्कने वा नफर्कनेबारे स्पष्ट धार देखिदैन। तर, विगतका अभिव्यक्ति पूर्वराष्ट्रपतिकै हैसियतमा दिँदा पनि सुवाहउने खालका हुने गर्थे। भण्डारीले दिएको अभिव्यक्तिले पनि उनलाई पूर्वराष्ट्रपतिको हैसियतमा भन्दा बढी एमाले नेतृको रुपमा हेर्ने खालका थिए।

एमाले अध्यक्ष अमेरिकामा भएकै बेला ओलीलाई नै मात खुवाउने गरेर पूर्वराष्ट्रपति भईसकेकी भण्डारीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा एमालेको गुनगान र पार्टीलाई सफल पार्ने सूत्र दिएकी छन्।

२०८४ को निर्वाचनपछि एमालेकै तर्फबाट राष्ट्रपति बनाउनु पर्ने सन्देश दिएकी भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बत्र जरुरी रहेको बताएकी थिइन। उनी त्यतिमा मात्रै रोकिनन्। ८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेकोमा जोड दिइन्।

अध्यक्ष ओलीले नै पनि अहिलेसम्म भण्डारीले बोलेको जस्तो बोल्न सकेका छैनन्। पूर्वराष्ट्रपतिकै हैसियत बिर्सिएर बोलेका भण्डारीको अभिव्यक्तिले उनी पार्टीको नेतृत्वमा आउने उचित समयको प्रतीक्षामा रहेको देखिन्छन्।

दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी छिल्लो समय एमाले निकटका कार्यक्रममा सक्रियताका साथ लागिरहेकी छिन्। गत वैशाख १० गते नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा भण्डारीले ‘गणतन्त्र गौरव’ सम्मान पाउँदा ओलीले नै एमालेको सबैभन्दा ठूलो सम्मान भएको बताएका थिए।

त्यस्तै जेठ १६ गते पनि एमालेको राष्ट्रिय महिला भेलामा प्रमुख अतिथिकै रुपमा सहभागी भएकी थिइन्। अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नु परेको संभवतः यो पहिलो कार्यक्रम थियो।

त्यसपछि पनि सात वर्ष राष्ट्र प्रमुख भएर काम गरिसकेकी भण्डारीले पार्टीको सदस्यतासमेत नवीकरण गरेको विषयले प्रतिनिधिसभाको बैठकमा नै प्रवेश पाएको थियो।

भण्डारीले अन्तरवार्ता वा सार्वजनिक कार्यक्रममा बोल्दा पनि राष्ट्रपतिको हैसियतमा भन्दा एमाले नेतृको हैसियतमा बढी उभिने गरेकी छन्। उनको पूर्वराष्ट्रपतिको हैसियतमा केही अभिव्यक्ति वा शुभकामना आएको देखिँदैन।

जहा जे जति पनि बोल्ने गरिकी छिन्, ती सबै अभिव्यक्तिमा एमाले नेतृकै भान हुन्छ। यस्तो अवस्थामा के अब भण्डारीले ओलीसँग भिडेरै पार्टी नेतृत्वमा आउन खोजेकी हुन् भन्ने प्रश्न उब्जिएको छ।

ओली अमेरिकामा भएको बेला उनैलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाएर ल्याएको एमालेले पनि ओलीपछि विद्यादेवीलाई नै स्वीकारेको स्पष्ट हुन्छ।

विद्यादेवीले पनि अध्यक्षकै हैसियतमा बोल्दा उनमा नेतृत्वमा आउने चाहना रहेकोमा थप बल पुग्छ। अब २०८४ अघि हुने एमालेको आगामी महाधिवेशनमा ओलीलाई टक्कर दिँदै उनको विरासत तोडेर नेतृत्वमा आउँछिन् वा ओलीको उत्तराधिकारी बन्छिन् भन्ने प्रश्न उब्जिएको छ।

त्यो समयले नै बताउला। तर, पूर्वराष्ट्रिपतिको हैसियत नै बिर्सिएकी भण्डारीलाई ओलीको किल्ला भत्काउन त्यती सहज भने हुने छैन। किनभने १५ वर्ष एमालेमा राज गरेका माधवकुमार नेपाल र पार्टीको नेतृत्व गरिसकेका झलनाथ खनाललाई समेत ओलीले बढारि दिएका छन्।

भीम रावल जस्ता प्रभावशाली नेतालाई पनि पार्टी र राष्ट्रिय राजनीतिबाट भित्तामा नै पु¥याई दिएका ओलीलाई पन्छ्याउन विद्याका लागि एउटा सानो हथौडाको भरमा ठूलो पहाड फोड्नु जत्तिकै चुनौती छ।

तर त्यो चुनौती पन्छाउन ओलीकै खिलाफमा उनी जान्छिन् वा के गर्छिन त्यो भने हेर्न बाँकी छ। यद्यपि पछिल्ला गतिविधिहरुले पार्टीको ११ औँ महाधिवेशनका लागि माहोल बनाउन खोजेको भने स्पष्ट देखिन्छ।