राष्ट्रिय एकताका लागि खेल र संस्कृति महत्त्वपूर्णः अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि खेल र संस्कृतिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ।एम। सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र संस्कृतिलाई विशेष ध्यान दिइरहेको बताए।

उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्धन हुने बताए । खेल समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्त्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे। उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता प्रवर्धन गर्ने बताए।

प्रचण्डले भने‚ ‘राजनीति र विकास निर्माण क्षेत्र बाहेक दुईवटामा मेरो विशेष ध्यान छ। खेलकुदको माध्यमबाट राष्ट्रिय एकता प्रवर्धन गर्ने, देशको विकास र समृद्धिको एउटा नयाँ यात्रा शुरु गर्ने, समाजमा अनुशासन र मर्यादा कायम गर्ने एउटा विधितिर समाजलाई लैजाने महत्त्वपूर्ण रणनीतिक क्षेत्र खेल क्षेत्र हो।

अर्को संस्कृति हो। संस्कृति सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँध्ने र राष्ट्रिय एकता प्रवर्धन गर्ने क्षेत्र हो।

उनले नेपालले अन्ताराष्ट्रिय खेल प्रतियोगिताहरूमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यो वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताए। उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्त्वपूर्ण प्रतियोगिताको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।