आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको छ। आजदेखि आइतबारसम्म ५६ जिल्लामा भारीदेखि अतिभारीसम्मको वर्षाको पूर्वानुमान विभागले गरेको हो।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारी वर्षा प्रक्षेपण गरिएको हो।

हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।