कञ्चनपुरमा इन्सपेक्टर शाहीसहित ५ प्रहरी कुटिए

सांकेतिक तस्वीर

काठमाडौं । कञ्चनपुरमा डिउटीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण भएको छ। पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा लंगुरबुर्जा (खडखडे) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती) का प्रहरी निरीक्षक मोहनविक्रम शाहको टोलीमाथि कुटपिट भएको हो।

बुधबार राति ११ बजेतिर खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा आक्रमण भएको र आफुसहित ५ प्रहरीलाई सामान्य चोट लागेको प्रहरी निरीक्षक शाहले बताए।

उक्त समूहले प्रहरीमाथि आक्रमण गर्नाका साथै प्रहरी टोली चढेको भ्यान तोडफोड गरेका छन्। प्रहरी भ्यानको अगाडिपिट्टको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

प्रहरी टोलीमाथि आक्रमण गर्ने कोही पनि समातिएका छैनन्। उनीहरूको पहिचान गरेर खोजी गरिने प्रहरीले जनाएको छ।