बलात्कारमा फसाइदिने भन्दै ३० लाख मागेको आरोपमा इन्सपेक्टर शाहीमाथि छानबिन

काठमाडौं। ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि छानबिन थालिएको छ। बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा लेनदेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो।

घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ। ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको हो। छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको स्रोतले बताएको छ। लेनदेन संलग्न केहीलाई पक्राउ समेत गरिसकिएको प्रहरी स्रोतले बताएको छ।