रवि प्रकरणले काँग्रेस र एमालेको सरकार ढल्दै, ओलीमाथि काँग्रेसको बढ्दो दवाव

काठमाडौं। सत्ता ढाल्न नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दवाव बढाउदै गएका छन्। नागरिक र सत्तारुढ पार्टी तहहरुबाटै सरकारका काममा ब्यापक असन्तुष्टि देखिन थालेका छन्।

त्यसमाथि भूराजनीतिक परिस्थिती पनि अहिलेको सरकारको पक्षमा त्यती धेरै नरहदा प्रतिपक्षीले आशंका गरेजस्तो सरकारको आयु दशैं–तिहारभन्दा धेरै समय नजाने संकेत गर्न थालेका त होइन भन्ने प्रश्न उठ्न थालेको छ।

सरकार बनेको सय दिन समेत बित्न नपाउँदै सरकारविरुद्ध जनता र सत्तारुढ दलहरुकै अविश्वास बढ्दो छ। हुन त प्रतिपक्षीहरुले सरकार ढल्ने भन्दै दिने गरेको समय पनि नजिकिन थालेको छ। उनीहरुले दशैं–तिहार मनाउन पाउनुलाई नै यो सरकारको सौभाग्य ठान्ने गरेका छन्।

संख्याको हिसाबले उनीहरुको यो आशंका तत्कालै सत्यमा बदल्न सहज नदेखिए पनि दुई तिहाईको संख्यात्मक शक्ति काममा देखिन सकेको छैन। यसले केही आशंका भने अवश्य पनि उब्जाएको छ।

देश–विदेशमै सरकार र प्रधानमन्त्रीविरुद्ध अविश्वासको खाडल झनै गहिरिँदै गएको छ। र यही आवाजलाई बल पुग्नेगरी कांग्रेसका शेखर कोइरालालले आफ्ना अभिव्यक्ति चर्को पारेका छन्।

सत्ताको भाग खाएको शेखर पक्ष आफूले पठाएका मन्त्री र पदाधिकारी भन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तोष राख्दै आएको छ।

कुलमान घिसिङसँग जाइलाग्नेदेखि उपसभामुख हटाउने प्रयाससम्ममा असन्तुष्टि देखिँदा कांग्रेस–एमाले मिले सबैथोक हुने बताउने शेखर नै यो सरकारले पनि नतिजा दिन नसकेकामा असन्तोष पोखिरहेका छन्।

खासमा भारतले यो समकिरणलाई नरुचाएको बिषयमा पनि शेखर सचेत रहेको बुझिन्छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रयासका बाबजुत पनि भारतले ओली त्यती सहज नबन्दा यसैमा शेखर पनि खेल्न खोजिरहेको चर्चा हुने गरेको छ।

हुन त पहिलो पार्टी भएर पनि माओवादीलाई सत्ता छाडेकै समयदेखि कांग्रेसमा शेरबहादुर देउवाले संसदीय दलको नेता छाड्नुपर्ने सुक्ष्म आवाज नउठेको होइन।

त्यसका लागि शेखरले आन्तरिक प्रयास थाले पनि उनीसँग पर्याप्त संख्या भने छैन। यही मुुद्दालाई शेखरले पर्टीको १५ औँ महाधिवेशनसँग पनि जोड्न थालेका छन्।

२०८३ सालमा प्रधानमन्त्री बनेपछि मात्रै देउवा महाधिवेशन गराउने मूडमा रहदा त्यसअघि नै महाधिवेशन गराउन शेखरले सचेत नै गराएका थिए।यसबाहेक रास्वपा सभापति रवि लामछानेमाथि कारवाही,कांग्रेस र गृहमन्त्री रमेश लेखकका लागि प्रतिष्ठाको बिषय हो।

तर, अमेरिका भ्रमणमा रहेका ओलीकै निर्देशनमा रवि पक्रने बिषय तत्कालका लागि रोकिएको चर्चा छ। एकाततिर उनीमाथिको कारवाही रोकिए कांग्रेससँग ओलीको सम्बन्ध चिसिन सक्नेछ।

किनभने कांग्रेसले धोका दिए ओलीका लागि रास्वपा नै टेको बन्ने तथ्य बिगतले देखाइसकेको छ। अर्कोतर्फ माओवादीसँग सरकारमा हुँदा प्रचण्ड नै प्रधानमन्त्री भए पनि ओलीले दबाबमा राखेर आफूले लाभ लिने गरेका थिए।

देउवा स्वयं पनि अहिलेको गठबन्धन ०८४ सम्मै लैजना इमान्दार रहेको ओलीले बुझ्नु र दुई वर्ष सत्ता सुरक्षित हुुने भएकाले कांग्रेससँग कम्प्रमाइज गर्नुपरेको छ।यो कम्प्रमाइजको बाध्यताबाट हट्न खोजे वा एकलौटी गरेर हिंड्न खोज्ने प्रवृत्तिका ओलीको धैर्यता टुटे जुनसुकै बेला जे पनि हुनसक्ने जानकारहरुले बताउने गरेका छन्।

हुन त एमालेसँग बन्ने हरेक समीकरणका शुत्राधार अहिलेका अर्थमन्त्री विष्णु पौडेल रहेको तथ्य ओपन सेक्रेट जस्तै छ। अहिले भारत ओलीप्रति खासै सकारात्मक नरहेकै समय उनै पौडेल चीन भ्रमणमा छन्।

भ्रमणको प्रयोजन अर्कै भए पनि सत्ता टिकाउन ओलीको अर्को अश्त्र चीन हो। किनभने, चीन रिझाएरै तेस्रो पार्टीका प्रचण्डले सरकार टिकाउँदा दोस्रो पार्टी रहेको एमालेले त्यो कार्ड खेल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

छिमेकी मुलुक भारत र चीन दुबै देश अहिलेको सरकारको अनुकूल छैनन्। प्रयासका बाबजुद पनि ओलीले चाहेजति सकारात्मक नदेखिने लक्षण भारतले देखाइसक्दा चीनसँग अनुकूलताको प्रयास गर्नु एमालेका लागि आवश्यक र अन्तिम अश्त्र पनि हो। किनभने कुनै एक छिमेकी पनि सन्तुष्ट नरहेमा त्यो सरकारको आयू धेरै नहुने कुरा नेपालको भूराजनीतिक प्रभावको मामिलामा नीकै महत्वपूर्ण हो।

प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष प्रचण्डकै गतिविधि द्वेध चरित्रका छन्। एकैछिनमा ओलीप्रति आक्रोशित भइहाल्ने र एकैछिनमा मन माझामाझ गरिहाल्ने प्रचण्डको प्रवृत्तिले एमाले आफैँ अचम्मित छ।

केही हदसम्म यो तथ्यलाई एमाले महासचिव शंकर पोखरेलकै अभिव्यक्तिले पनि बल थप्छ। बुधबार मात्रै पोखरेलले प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई नै तनावपूर्ण बनाएको तर्क गरेका थिए।

भारत सकारात्मक नदेखिएकै समय अर्थमन्त्रीको चीन भ्रमण, रवि पक्राउ प्रकरणमा गृह र प्रधानमन्त्रीका फरक गतिविधि र प्रचण्डको छटपटीको पटाक्षेप कांग्रेस रिसाउँदाको परिणाममा त देखिने होइन भन्ने आशंका उब्जिएको छ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले एक कार्यक्रममा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दावी समेत गरिसकेका छन्। उनले भने केही समयभित्रै कांग्रेस(एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको बताएका छन्।

प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे। ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धीलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झक्झकाउने र नमाने संसद् र सडकबाट आन्दोलन गर्ने बताए।