दसैंको अग्रिम टिकट खुला, झरीमा भिझ्दै टिकट काट्दै यात्रु

काठमाडौं । आजदेखि सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ। शुक्रबारदेखि नै मुलुकको सङ्घीय राजधानी काठमाडौंसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन्।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन्।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको छ। आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति रहेको छैन। राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्ने यात्रुलाइ समस्या परेका छ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्ने गरेको छ।