आख्यानकार यदुनाथ भट्टराईको समयका डोबहरू सार्वजनिकीकरण एवम् विमर्श कार्यक्रम सम्पन्न

चितवन।आख्यानकार यदुनाथ भट्टराईको कथा संग्रह समयका डोबहरू सार्वजनिकीकरण तथा विमर्श कार्यक्रम नारायणी नमूना मा वि भरतपुरको सभाहलमा सम्पन्न भएको छ।

अखिल नेपाल लेखक सङ्घका जिल्ला उपाध्यक्ष प्रभा मरहठ्ठाको सभापतित्वमा आयोजित समारोहमा प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मीले कथामा जनयुद्धको नेपाली समाजको यथार्थ चित्रण लेखेको साथै सरल र सरस भाषाको प्रयोगबाट उत्कृष्टता हासिल भएको बताए।

विमोचित कृतिको विमर्श गर्दै साहित्यकार उदय अधिकारीले कथाको विशिष्टता यथार्थ जनयुद्धको कथावस्तु र नेपाली समाजको वास्तविकता झल्काउने सत्य उजागर गरेको बताए।

कथाकारले दश वर्षको द्वन्द्वको घटनामा विद्रोही र सत्तासिन दुवै पक्षको वास्तविक चरित्र देखाउन सफल भएकोमा साधुवाद प्रकट गरे।साथै सादगी जीवनशैलीका धनी कथाकार भट्टराई भएको बताए।

कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अखिल नेपाल लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रामहरि श्रेष्ठले कथाहरू तत्कालिन जनयुद्धको मुल प्रवाहमा समाहित भएको र जनयुद्धकालिन घटनाको यथार्थ चित्रण लेखेको बताए।

साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले कृतिकारको योद्धा उपन्यासपछि समयका डोबहरू सार्वजनिकीकरण हुदाँ सामाजिक यथार्थताको सिलसिला मिलेको दाबी गर्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा समालोचक डाक्टर धनेश्वर भट्टराईले कथाहरुको भाषा शैली सरल विषयवस्तु खोटरहित भएको हुनाले कथाकारको आगामी दिनमा अझ उत्कृष्ट साहित्यिक यात्राको शुभकामना व्यक्त गरे। पत्रकार प्रेम कडेलले कथाहरु सामाजिक यथार्थमा आधारित र मुखरित भएको बताए।

उनले कथाकार भट्टराई पूर्व शिक्षक भएकोले नेपाली समाजको राजनीतिक सामाजिक चिरफार सत्य तथ्य पत्ता लगाएर गरेको बताए। साहित्य समाजको दपर्ण भएकोले कला कलाको लागि नभई सभ्य समाजको सृजनाको लागि हुने भन्दै आगामी उज्ज्वल साहित्यिक यात्राको शुभकामना व्यक्त गरे।

कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कथाको विशिष्टता र विषय आफुले अध्ययन गरेरै बताउने भन्दै कथाकार भट्टराईको कृतिको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै साहित्यकार डाक्टर कपिल अज्ञातले विषय प्रवेश,प्रस्तुति र प्रयोगमा आधारभूत रुपमा कृतिको गहनता झल्कने भन्दै समयका डोबहरूले सफलताको शिखर चुम्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार पोषराज पौडेलले यदुनाथ भट्टराईको कथा संग्रह समयका डोबहरू सार्वजनिकीकरण हुदाँ खुशी भएको बताउदैं कवि शिक्षक पृष्ठभूमिको भएकोले कृतिले सफल साहित्य रचना निर्माणको शिखर चुम्न सकोस् भन्दै आगामी यात्राको शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि इन्द्र रेग्मी, विशिष्ट अतिथि रामहरि श्रेष्ठ, प्रकाश चापागाईं एवम् विमर्शकर्ता उदय अधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै अखिल नेपाल लेखक सङ्घका जिल्ला अध्यक्ष एवम् लेखक यदुनाथ भट्टराईले प्रतिकुल मौसमका बाबजुद उपस्थित सबै सबैमा हृदयदेखि आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बोल्दै सभाध्यक्ष प्रभा मरहठ्ठाले कथाकार भट्टराईको कृतिको सफलताको शुभकामना दिदैं कथाको घटना तत्कालिन समाजको उपजको रुपमा वर्तमान समयको समेत संकट भएको धारणा राखिन्।

कार्यक्रममा आख्यानकार यदुनाथ भट्टराईको श्रीमती डाली भट्टराईको समेत समुपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण अखिल नेपाल लेखक सङ्घका जिल्ला सचिव प्रकाश देवकोटाले गरेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा चितवनका प्रबुद्ध साहित्यिक संस्थाका अध्यक्षहरू एवम् प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा भट्टराई कुल बन्धु प्रतिष्ठानका लिलाधर भट्टराईले समेत यथार्थवादी धाराको कथा संग्रह समयका डोबहरू सार्वजनिक भएको बताउदैं आख्यानकार यदुनाथ भट्टराईको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

समयका डोबहरू कथा संग्रहको प्रकाशन भुँडीपुुराण प्रकाशनले बजारमा ल्याएको हो। यसको बजार मुल्य रु ३५० रहेको प्रशासक संस्थाले जनाएको छ।