सहकारी ठगीमा पक्राउ परेका मेयर देवकुमारलाई अदालत लगियो

बागलुङ । सहकारी ठगी आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई सोमबार अदालत हाजिर गराइएको छ।

सहकारी ठगीको आरोप लागेपछि फरार रहेका नेपालीलाई गत शुक्रबार भारतको नयाँदिल्लीमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो । नेपालीलाई आइतबार हवाई मार्गबाट पोखरा ल्याइएको थियो । सोही राति सडक मार्ग हुँदै उनलाई बागलुङ ल्याइएको हो । सोमबार कार्यालय खुल्ला भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले म्याद थप गर्न जिल्ला अदालत बागलुङ लगेको छ ।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि बागलुङ ल्याइएको छ । उनलाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।

बागलुङ र पोखरामा रहेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम अपचलन गरी १६ महिनादेख फरार रहेका थिए । २०८० बैशाख ७ गते सहकारीमा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि सम्पर्कबिहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोपमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।

१२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिएभने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्।