हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

एजेन्सी । हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

सो घटनाबारे शुक्रबार संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको र हाइटी “आतंकित” भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको जनाएको छ।

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू थिए।

हाइटी प्रहरीसँगको गोली हानाहानमा दुई गिरोहका सदस्यसहित कम्तीमा १६ जना गम्भीर घाइते भएका छन्। आक्रमणमा गिरोहका सदस्यहरूले कम्तिमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ।