८ किलो सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार बिहान करिब ३ बजेतिर विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

प्रहरीले स्कुटरमा सबार भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षको अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षको राहुल भिट्टिहाल बाडलाई पक्राउ गरेको हो । बरामद सुनको ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले टेपको सहायकले बाँधेर शरीरमा रुमाले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको एसपी खड्काले बताए ।

खड्काका अनुसार उनीहरूले जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएका थिए । उनीहरुले काठमाडौँको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी खड्काको भनाई छ।