अध्यक्ष रञ्जिताद्वारा नेतालाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन् ।

अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन् ।

त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन् ।

अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको सर्कुलरमा उल्लेख गरेकी छन् ।

तर यो सर्कुलरमा पुरानो मिति उल्लेख गरेर हालै जारी गरेको सो पार्टीका कतिपय नेताको आरोप छ । फेसबुकमा लेखेकै कारण पार्टीका एक जना नेता थुनामा परेपछि पुरानो मिति राखेर सर्कुलर जारी गरेको नेताहरूको आरोप छ ।

सुदूरपश्चिममा पार्टीबाट मन्त्री बनेका लक्ष्मण किशोर चौधरीका स्वकीय सचिव नवीन थापाको बारेमा फेसबुकमा लेखेकै कारण पार्टीका नेता रमित ओली थुनामा परेका थिए।