गृह,भौतिक र रक्षामन्त्री बाढी प्रभावित क्षेत्र सिन्धुलीमा

सिन्धुली । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन्।

आज बिहान गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोट आइपुगेको हो।

उनीहरूले सुनकोसी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे।

रामेछापतर्फको ५१ मिटर बगेको बेलिब्रिजमा यातायात सञ्चालनका निम्ति नेपाली सेनाले प्रारम्भिक काम थालिसकेको छ। उनीहरूले उक्त कामको निरीक्षण समेत गरे।

उनीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेसहित स्थानीयवासीसँग छलफल जारी राखेका छन्।

मन्त्रीहरू सिन्धुपाल्चोकको चौतारा पनि जाने कार्यक्रम रहेको जनाइएको छ।