डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो ।

महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ। डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन्।

प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।

त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।