युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ

धनगढी । बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्र मिश्रले बताए ।

डीएसपी मिश्रका अनुसार प्रहरी हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन् ।

डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।

प्रहरीका अनुसार मंगोला थरकी युवती शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन (प्लास्टिकको ग्यालन)लिएर घरबाट निस्किएकी थिइन् तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए।

बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ। उनीहरुले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।

दुवै जनाबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको स्थानीयको आरोप छ ।

प्रहरीका अनुसार युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ।

युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् ।

प्रहरी निरीक्षक ढुंगानाले चौकीमा कार्यरत एक जना प्रहरी सहायक हवल्दार र दुई जना प्रहरी जवानलाई जिल्ला झिकाइएको बताए । उनीहरुको ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट नयाँ प्रहरी खटाइएको छ।