साफ महिला च्याम्पियनसीपको लागि नेपाली टोली घोषणा
काठमाडौं । साफ महिला च्याम्पियनसीप–२०२४ का लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा विदेशी लिगमा व्यस्त रहेका सावित्रा भण्डारी र रेखा पौडेललाई पनि समेटिएको छ ।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन् । सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ ।
च्याम्पियन्सिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।
च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुनेछ । नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्नेछ । अघिल्ला ६ मध्ये पाँच पटक उपविजेता बनेको नेपालले यस पटक घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ । प्रतियोगिताका लागि सहभागी टोली नेपाल आउने क्रम जारी छ।